हेटौंडा ः हेटौंडा–८, कमानेमा दोस्रो कमाने महोत्सव सुरु भएको छ । बिहीबारबाट सुरु भएको दोस्रो कमाने महोत्सवको उद्घाटन हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले गर्नुभयो । “स्थानीय पर्यटन, स्थानीय साँस्कृतिक प्रवद्र्धन, स्थानीय व्यापार प्रदर्शन” लाई मूल नारा बनाएर वडा भित्र रहेका स्थानीय कला, संस्कृति पहिचान र व्यापार, व्यवसाय प्रदर्शनीको आयोजना गरिएको महोत्सव शनिबारसम्म सञ्चालन हुनेछ ।
कमानेका १९ वटा टोल विकास संस्थाका पदाधिकारी एवम सदस्यहरुले वडाबाट लिएको तालिम तथा सीपलाई सदुपयोग गर्दै साना उद्योग तथा महिला उद्यमीहरुको उत्पादनलाई बजारीकरण गर्नका लागि महोत्सवको आयोजना गरेकोमा नगर प्रमुख मीना कुमारी लामाले खुसी व्यक्त गर्नुभयो । वडा भित्र रहेका विभिन्न सीप तथा व्यवसायहरुको पहिचान गराउने, महिला आमा समुहहरुले उत्पादन गरेका आफ्ना उत्पादन प्रदर्शन गराउने, विभिन्न समयमा हेटौँडा उपमहानगरपालिकाबाट प्राप्त कृषि खेति तालिमहरुबाट सिकेको सीपलाई आफ्नो आयआर्जनमा परिवर्तन गर्न महोत्सवको आयोजना गरिएको बताइएको छ ।
दर्शकहरूको मनोरन्जनको उद्देश्यले महोत्सव विभिन्न प्रकारका खाद्यान्नका स्टल अन्य स्टलहरू राखिएको थियो । पहिलो दिन महोत्सवमा सहभागी हुन आउने दर्शकहरूको घुइँचो लागेको छ । महोत्सवमा स्थानीयले बनाएका विभिन्न किसिमका खानाका परिकारहरु, खानाका स्टलहरुलाई समावेश छन् । महोत्सवमा १ सय स्टलहरू राखिएको छ ।