हेटौँडाः बालमैत्री घोषणा भइसकेको हेटौँडा–४ र हेटौँडा–१० बाट ५ बालश्रमिकको उद्दार गरिएको छ । बुधबार नगर बाल अधिकार समिति अन्तर्गतको बालश्रमिक उद्दार तथा पुनस्र्थापना उपसमितिले हेटौँडा बजारक्षेत्रको अनुगमन गर्ने क्रममा हेटौँडा–१० स्थित एक मोटरसाइकल वर्कसप र हेटौँडा–४ स्थित ३ वटा मोटरसाइकल वर्कसपबाट ५ जना बालकको उद्दार गरिएको बालमैत्री नगर सहजकर्ता सपना ढुंगानाले जानकारी दिनुभएको छ ।

हेटौँडा–१०, मेनरोडस्थित आर एण्ड आर ट्रेडर्स, हेटौँडा–४ मेनरोडस्थित विश्वकर्मा वर्कसप, थाहामार्गस्थित न्यू आशिका मेकानिकल वर्कसपबाट एक एकजना बालकको उद्दार गरिएको छ भने हेटौँडा–४, थाहा मार्गस्थित न्यू विश्वकर्मा मोटर वर्कसपबाट २ जना बालकको उद्दार गरिएको छ । उद्दार गरिएका बालकहरुलाई सिविन बालहेल्पलाइनको बालगृहमा राखिएको छ ।

२ नम्बर वडा सदस्य, अनुगमन समिति संयोजक तथा नगर बाल अधिकार समितिका सदस्य सुरज बर्तौला, श्रम तथा रोजगार कार्यालय हेटौँडाका प्रमुख रुद्र नारायण साह र अनित रसाईली, जिल्ला प्रशासन कार्यालय मकवानपुरका दीपक पौडेल, जिल्ला प्रहरी कार्यालयकी लालमाया बाईवा, सिबिन बाल हेल्पलाईनका प्रबन्धक झविन्द्र ज्ञवाली, बालमैत्री नगर सहजकर्ता सपना ढुंगानाको समूहले अुनगमन गरेको हो ।

अनुगमन टोलीले श्रममा सहभागी बालकहरुलाई उद्दार गरी बालश्रम दुरुपयोग गर्नेलाई बालकका अभिभावकलाई झिकाउन निर्देशन दिएको छ । श्रममा संलग्न बालकलाई अभिभावकको जिम्मा लगाउनुका साथै रोजगारदातालाई जरिवाना तिराइनेछ । उद्दार गरिएका बालकहरुलाई परिवारमा पुनस्र्थापना गरिने बालमैत्री नगर सहजकर्ता ढुंगानाले जानकारी दिनुभएको छ । अनुगमन टोलीले १३ वर्ष र १४ वर्षका दुई जना बालक र १५ वर्षका तीनजना बालकलाई उद्दार गरिएको छ । उद्दार गरिएका मध्ये एकजना पर्सा जिल्लाका छन् भने अन्य ४ जना भारतीय हुन् ।