हेटौंडाः संघीय सरकारका मुख्य सचेतक महेश बर्तौलाले पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि अन्याय नभएको बताउनुभएको छ । शनिबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) हेटौंडा उपमहानगरपालिका कमिटीको दोस्रो अधिवेशनलाई सम्बोधन गर्नुहुँदै मुख्य सचेतक बर्तौलाले सहकारी ठगी प्रकरणमा विभिन्न ठाउँमा उजुरी परेपछि अनुसन्धानका लागि कहिले पोखरा, कहिले चितवन लगिएको जानकारी दिनुभयो ।
सामाजिक सञ्जालबाट नै रवि लामिछानेलाई सफाई दिनुपर्छ, निर्दोष हो भनेर उन्मुक्ति दिनुपर्छ भनिरहेको अवस्थामा कानुनी तरिकाबाट जवाफ दिन जरुरी रहेको बताउनुभयो । यस्तै मुख्य सचेतक बर्तौलाले हिरासतभित्र भएको व्यक्ति लामिछानेले हिरासतमै पार्टी चलाएको आरोप लगाउनुभयो । हेटौंडा औद्योगिक क्षेत्र क्षेत्रभित्र रहेका कैयौं जग्गाहरु उपयोगहिन भएर बसेको भन्नुहुँदै उद्योग चल्न नसकेकोप्रति दुख व्यक्त गर्नुभयो । पार्टीको एजेण्डा वडाध्यक्ष, मेयर, सांसद, प्रधानमन्त्रीको मस्तिष्कमा के चल्यो त्यो आधारमा होइन शिक्षामा एमालेले के गर्ने ? जस्ता विषयमा केन्द्रीत रहेर घोषणापत्र तयार गरेर कार्यान्वयनमा ल्याउन जोड दिनुपर्नेमा उहाँको भनाइ थियो ।
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले अहिले पार्टी अन्तर्राष्ट्रिय रुपमा चौतर्फी घेराबन्दीमा रहेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउनका लागि अन्तर्राष्ट्रिय खेल खेलिरहेको उहाँले आरोप लगाउनुभयो । पार्टीले मिसन २०८४ लक्षित गर्दा अहिलेको अवस्थाले मिसन २०८४ सफल नहुने पौडेलले दावी गर्नुभयो । यसैगरी नेकपा एमालेका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज रामेश्वर रानाले १९ वडामा एक सय ९० युवाहरु भावी नेताको रुपमा हुर्कदै गरेको र त्यो क्रममा तयारी छ कि छैन भन्ने विषय बुझ्न जरुरी रहेको बताउनुुभयो ।
पुस्तान्तरणको कुरा चलिरहँदा हार्दिकताका साथ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बा भनेर सम्बोधन गरेर सम्मान गरिरहेको र महासचिवको निर्देशनलाई पालना गरिरहेको बताउनुभयो । यदि पार्टी राजनीतिक भयो भन्दै गर्दा यहाँ बा हुनुहुन्छ भने काका पनि हुनुहुन्छ बताउनुहुँदै दाइ, भाइ, छोराछोरी पनि छन् । पार्टीभित्रको जिम्मेवारीलाई पूरा गरिएको छ कि छैन भन्ने कुरा बुझ्न जरुरी रहेको उहाँले स्पष्ट पार्नुभयो । अधिवेशनबाट हेटौँडा उपमहानगरको नयाँ कमिटी चयन गर्नेछ । नेकपा एमाले हेटौँडा उपमहानगर कमिटीमा बोलबहादुर कार्की र जनरल श्रेष्ठको दावी देखिन्छ । उद्घाटन सत्र लगत्तै निर्वाचन समितिले निर्वाचनको प्रक्रिया अगाडि बढाएको छ ।