हेटौंडाः बागमती प्रदेशको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले तत्काल प्रदेशसभा बैठक बोलाउन माग गरेको छ । दलको कार्यालय हेटौंडामा मंगलबार पत्रकार सम्मेलनमार्फत माओवादी केन्द्र प्रदेश संसदीय दलले लामो समयदेखि बस्न नसकेको प्रदेशसभा बैठक अविलम्ब बोलाउन माग गरेको हो ।
नेकपा माओवादी संसदीय दल बागमती प्रदेशका नेता शालिकराम जम्कट्टेलले बाढी पहिरो लगायत प्राकृतिक विपत्तिको समयमा समेत प्रदेश सरकार बेखबर बनेको आरोप लगाउनुभयो । सरकारले तुरुन्त प्रदेशसभा बैठक नबोलाए संवैधानिक प्रक्रियाअनुसार जाने उहाँले चेतावनी दिनुभयो । नेकपा माओवादी केन्द्र संसदीय दल बागमती प्रदेशका सचेतक रत्नप्रसाद ढकालले गत असोज १४ गतेको सवैदलीय बैठकको निर्णय कार्यान्वयन गर्न माग गरिएको छ । कार्तिक २८ गते बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामालाई बुझाइएको ध्यानाकर्षणपत्रमा उल्लेख गरिएका विषयहरु गम्भीरतापूर्वक सम्बोधन गर्न माग गरिएको छ ।