हेटौँडाः काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) मा मकवानपुरका रिजन ढकालले उत्कृष्ट बलिङ प्रस्तुत गरेका छन् । त्रिवि क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन राइनोजबाट खेलिरहेका रिजनले पोखरा एभेन्जर्सविरुद्ध उत्कृष्ट प्रदर्शन गरेका हुन् ।
पहिलो ओभरमै ३ विकेट गुमाएर दवावमा रहेको पोखराविरुद्ध दोस्रो ओभर मेडन राखेका ढकालले चौथो ओभरमा १ रन खर्चेर ३ विकेट लिएका हुन् । व्यक्तिगत दोस्रो ओभर बलिङ गर्ने क्रममा रिजनले पहिलो बलमै पोखराका दिनेश खरेललाई आउट गरे । चौथो बलमा किरण ठगुन्नालाई आउट गरेका रिजनले ओभरको अन्तिम बलमा माइकल लिस्कलाई आउट गरे । बायाँ हाते तीव्र गतिका बल रिजन नेपाली राष्ट्रिय टिमका समेत महत्वपूर्ण सदस्य हुन् ।
पोखराविरुद्ध चिवतनका लागि पाकिस्तानी तीव्र गतिका बलर सोहिल तन्विरले ३ विकेट लिएका हुन् । तन्विरले पोखराका कप्तान कुशल भुर्तेललाई पहिलो बलमै आउट गरेका थिए भने दिलिप नाथलाई पाँचौं बल र बेस डी लिडेलाई पहिलो ओभरको अन्तिम बलमा आउट गरेका हुन् । पोखराले टस जितेर चितवनलाई व्याटिङको निम्तो दिएको थियो । चितवनले पहिले व्याटिङ गर्दै ७ विकेटको क्षतिमा १ सय ६१ रन बनाएको छ । १६२ रनको लक्ष्यसहित जवाफी व्याटिङमा उत्रिएको पोखरा संकटमा छ । ९ ओभर सकिँदा पोखराले ४२ रन मात्रै जोड्न सफल भएको छ भने ७ विकेट गुमाइसकेको छ ।
