Home मुख्य समाचार बारा प्रहरीद्वारा ६२ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

बारा प्रहरीद्वारा ६२ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद

हेटौंडाः जिल्ला प्रहरी कार्यालय बाराका प्रहरीले ३२ लाख रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरी टोलीले विभिन्न समयमा गाडीहरुको सुरक्षाजाँच गर्दा अवैध सामान बरामद गरेको हो । इलाका प्रहरी कार्यालय अम्लेखगञ्ज र प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले ६१ लाख १३ हजार ८ सय ५५ रुपैयाँ बराबर गरेको हो । प्रहरीले बरामद गरेको अवैध सामान राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ ।

आइतबार ११ बजेर २० मिनेटको समयमा बारा जिल्लाको जीतपुर–सिमरा उपमहानगरपालिका–२१, अमलेखगञ्जचोकस्थित प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले जीतपुरबाट काठमाडौँतर्फ जाँदै गरेको प्र ३ ०१–००५ ख ९४२२ नम्बरको ट्रकमा लोड गरेको ३ लाख ३६ हजार रुपैयाँको ३५ बोरा चिनी, ६ बोरा आलु, ५ बोरा प्याज नियन्त्रणमा लिएको हो ।

यस्तै सोमबार बिहान ३ बजेर ३० मिनेटको समयमा जीतपुर–सिमरा उपमहानगरपालिका–७, जीतपुरचोकमा प्रहरी नायव निरीक्षक. मोहनारायण रायको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट पथलैयातर्फ जाँदै गरेको ना ८ ख ८२८६ नम्बरको ट्रकमा लोड गरेको ३१ लाख ७९ हजार रुपैयाँ बराबरको त्रिपाल, मोविललगायतका सामानहरु नियन्त्रणमा लिएको छ भने सोमबार नै ७ बजेर १० मिनेटको समयमा जीतपुर–सिमरा उपमहानगरपालिका–१ पथलैयाचोकमा प्रहरी नायव निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले वीरगंजबाट काठमाडौंतर्फ जाँदै गरेको प्र ०२ ०३–००१ ख ३६८९ नम्बरको ट्रकमा लोड गरेको २५ लाख ९८ हजार रुपैयाँ बराबरको खाद्यान्न सामग्री वरामद गरेको थियो ।

Exit mobile version