Home खेलकुद हेटौंडा–११ मा टोलस्तरीय भलिबल आजबाट

हेटौंडा–११ मा टोलस्तरीय भलिबल आजबाट

हेटौंडा–११ स्थित डाङ्डुङ्गे खेलमैदानमा अभ्यास गर्दै खेलाडीहरु ।

हेटौंडाः हेटौंडा–११ मा ८ औं संस्करणको टोलस्तरीय वडाध्यक्ष भलिबल प्रतियोगिता आज सोमबारबाट हुने भएको छ । दुम्सीडाँडा टोल विकास संस्थाको आयोजना तथा ११ नम्बर वडा कार्यालयको मुख्य प्रायोजनमा टोलस्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिता सुरु हुने भएको हो ।

प्रतियोगिता हेटौंडा–११ स्थित डाङ्डुङ्गे खेल मैदानमा हुने दुम्सीडाँडा टोलका अध्यक्ष शिवप्रसाद अगस्तीले जानकारी दिनुभएको छ । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथै वडाका खेलाडीहरुलाई प्रोत्साहन गर्न, खेलाडीहरु उत्पादन गर्न र भलिबल खेलको महत्व बुझाउन विगत ८ वर्षदेखि प्रतियोगिताको आयोजना गर्दै आएको अध्यक्ष अगस्तीले जानकारी दिनुभयो । प्रतियोगितामा ११ नम्बरका वडाभित्रका ८ वटा टोलहरुको सहभागिता रहेको छ ।

लिग प्रणालीमा सञ्चालन हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक दुम्सीडाँडा टोल विकास संस्था ‘सी’ र तल्लोताल टोल विकास संस्थाबीच प्रतिस्पर्धा हुनेछ । खेल बिहान ८ बजेबाट सुरु हुने उहाँले बताउनुभयो । गत वर्षको प्रतियोगिताको उपाधि आयोजक दुम्सीडाँडाले जितेको थियो भने सूर्योदय टोल विकास संस्था उपविजेता बनेको थियो ।

प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार रुपैयाँ नगद राशिसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले २० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा तृतीय हुने टिमले १० हजार रुपैयाँसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विधागत उत्कृष्टतर्फ उत्कृष्ट खेलाडी, उदीयमान खेलाडी, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर र उत्कृष्ट स्पाइकरलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । प्रतियोगिता आयोजनाका लागि करिब २ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताको फाइनल खेल कार्तिक १४ गते बुधबार हुनेछ ।

Exit mobile version