Home मुख्य समाचार हेटौंडाबाट लागुऔषधसहित एकैदिन ५ जना पक्राउ

हेटौंडाबाट लागुऔषधसहित एकैदिन ५ जना पक्राउ

लागुऔषधसहित पक्राउ परेका पाँच जना ।

हेटौँडाः प्रतिबन्धित लागुऔषधसहित ५ जनालाई प्रहरीले एकैदिन हेटौँडाबाट पक्राउ गरेको छ । ११ ग्राम लागुऔषध खैरो हेरोइन र ६०० एम्पुल डाईजेपामसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

शनिबार राति ११ बजेको समयमा हेटौँडाको थानाभ¥याङबाट लागुऔषध खैरो हेरोइनसहित २ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिनुभयो । उहाँका अनुसार अस्थायी प्रहरी पोष्ट थानाभर्याङबाट खटिएको प्रहरी टोलीले हेटौँडा–११ नमुना टोलबाट २३ वर्षीय सुजन गुरुङ र हेटौंडा–१० का ३३ वर्षीय अजय गहतराजको साथबाट ४ ग्राम लागुऔषध खेरो हेरोइन बरामद गरेको जनाएको छ ।

त्यस्तै शनिबार साँझ ६ बजेर ३० मिनेटको समयमा विशेष सुचनाको आधारमा प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१, चौकीटोलबाट एकजनालाई लागुऔषध खैरो हेरोइनसहित पक्राउ गरेको छ । प्रहरीका अनुसार चौकीटोलमा डेरा गरी बस्ने २३ वर्षीय अरुण नेपालीलाई कोठाबाटै ७ ग्राम खैरो हेरोईनसहित पक्राउ गरिएको जनाएको छ । बरामद भएको खैरो हेरोइनसहित ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान कार्य अघि बढाएको प्रवक्ता अर्यालले बताउनुभयो ।

त्यसैगरी शनिबार राति ९ बजेर ३५ मिनेटको समयमा प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले हेटौँडा–१५, पिपलबोटबाट लागुऔषध डाइजेपामसहित २ जनालाई पक्राउ गरेको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गतको उक्त स्थानमा सवारी साधनहरु रोकी सुरक्षाजाँच गर्ने क्रममा पथलैयाबाट हेटौँडातर्फ आउँदै गरेको बा ५४ प ६५९८ नम्बरको स्कुटर चालक ईलाम जिल्लाको एकथापा गाउँपालिका–६ का ३५ वर्षीय दिपेश श्रेष्ठ र स्कुटर पछाडी बस्ने पर्सा जिल्लाको पोखरीया नगरपालिका–६ का २४ वर्षीय लालबाबु पासवानलाई डाइजेपामसहित नियन्त्रणमा लिइएको प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

प्रवक्ता अर्यालका अनुसार स्कुटरमा फल्स बटम बनाई लुकाएर ल्याइएको अवस्थामा फेनार्गन २०० एम्पुल, नुर्फिन २०० एम्पुल र डाईजेपाम २०० एम्पुल फेला परेको थियो । पक्राउ परेका उनीहरुलाई लागुऔषध मुद्दामा ५ दिनको म्याद थप गरी अनुसन्धान कार्य अघि बढाइएको प्रवक्ता अर्यालको भनाई छ ।

Exit mobile version