
हेटौँडाः बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । आइतबार प्रदेश प्रमुख देवकोटा समक्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय हेटौंडाका प्रमुख उमाकान्त आचार्यले वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो । अख्तियार प्रमुख आचार्यले नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८०/०८१ मा सम्पादन गरेका काम कारवाहीहरु समेटेर तयार गरिएको ३४ औं वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/०८१ मा आयोगमा २६ हजार ९१८ वटा नयाँ उजुरीहरु विभिन्न माध्यमबाट प्राप्त भएको प्रतिवेदनमा उल्लेख छ । अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ वटा उजुरीहरु समेत गरेर आयोगमा ३६ हजार १८६ वटा उजुरी प्राप्त भएको थियो । गत आर्थिक वर्ष २०८०/०८१ मा प्राप्त ३६ हजार १८६ उजुरीमध्ये २७ हजार ७१४ (७६.५९ प्रतिशत) उजुरी स्क्रिनिङ र प्रारम्भिक छानबिनबाट फछ्यौट भएको आयोगको प्रतिवेदनमा उल्लेख छ । फछ्यौट गरेका उजुरीहरुमध्ये १३ हजार ५०० वटा उजुरीहरु आयोगको क्षेत्राधिकारभित्र नपरेका, गोलमटोल प्रकृतिका, हैरानी वा दुःख दिने नियतका र कुनै तथ्य प्रमाण बिनाका ज्यादै सामान्य प्रकृतिका तामेली गरिएको प्रतिवेदनमा समावेश गरिएको छ ।
आयोगबाट फछ्यौट भएकामध्ये ९३२ वटा उजुरीउपर विस्तृत अनुसन्धान गर्ने निर्णय गरिएको छ भने ४९६ उजुरीउपर सुझाव दिई तामेली गरिएको र १२ हजार ७८६ उजुरीउपर कानुन बमोजिम अन्य आवश्यक कारवाही गरिएको छ । प्रारम्भिक छानबिनको क्रममा रही फछ्र्यौट हुन बाँकी रहेका ८ हजार ४७२ उजुरीहरु आगामी आर्थिक वर्ष २०८१/८२ मा सरेको छ ।
आयोगको हेटौंडा कार्यालयले मात्र आर्थिक वर्ष २०७९/०८० बाट जिम्मेवारी सरेर आएका समेत कूल ३ हजार १५३ वटा उजुरी मध्ये २ हजार २४२ (७१.११ प्रतिशत) उजुरीहरु फछ्र्यौट गरेको प्रतिवेदनमा उल्लेख छ । कार्यालयमा सबैभन्दा बढी उजुरी संघीय मामिला तथा स्थानीय तहका ३८.७६ प्रतिशत, शिक्षा (स्थानीय तहसमेतका) १२.५२ प्रतिशत रहेका छन् । प्रदेश भौतिक पूर्वाधार विकास र यातायात मन्त्रालयका ४.४० प्रतिशत, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारणसँग सम्बन्धित ३.८७ प्रतिशत, उद्योग, पर्यटन, वन तथा वातावरणका २.८४ प्रतिशत उजुरीहरु रहेका छन् । सो बाहेक अन्य विविध विषयहरुसँग सम्बन्धित उजुरीहरु ७.३८ प्रतिशत रहेका छन् ।
आयोगको हेटौंडा कार्यालयमा बागमती प्रदेशका विभिन्न विषयका संघीय कार्यालयहरुसँग सम्बन्धित १७९, प्रदेशका कार्यालयहरुसँग सम्बन्धित २४५ र स्थानीय तहसँग सम्बन्धित ५२३ गरी कुल ९४७ उजुरी दर्ता भएको थियो । जसमध्ये ६९९ उजुरी फछ्र्यौट भएका छन् । आर्थिक वर्ष २०८०/०८१ मा आयोगबाट दायर भएका २०१ मुद्दाहरु मध्ये सबैभन्दा बढी ५८ मुद्दा गैरकानुनी लाभहानीसम्बन्धी रहेका छन् भने घुस रिसवत सम्बन्धी ४८ वटा मुद्दाहरु रहेका छन् ।
त्यसैगरी शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र सम्बन्धी ३४, सार्वजनिक सम्पत्तिको हानीनोक्सानी सम्बन्धी ३३, राजस्व चुहावटसम्बन्धी १३, गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी ११ र विविध विषयका ४ वटा मुद्दाहरु रहेका छन् । उक्त उजरीहरुमा छानविन गरी १ हजार ५४५ जनालाई प्रतिवादी बनाई ८ अर्ब ४० करोड ६ लाख ४९ हजार ४०७ रुपैयाँ बिगो मागदावी लिइएको छ ।
आयोगबाट विगत वर्षहरूमा विशेष अदालतमा दायर भएका आरोपपत्रहरु मध्ये आर्थिक वर्ष २०८०/८१ मा २३३ वटा मुद्दाहरूको फैसला प्राप्त भएको छ । जसमध्ये ४५ पूर्ण र १०७ आंशिक गरी १५२ मुद्दामा कसुर स्थापित भएको छ । समग्रमा विशेष अदालतबाट फैसला भएका भ्रष्टाचार सम्बन्धी मुद्दामा ६५.२४ प्रतिशत कसूर ठहर भएको आयोगको प्रतिवेदनमा उल्लेख छ ।