विद्यालय परिसरमा सरस्वती मन्दिर बनाउन आर्थिक सहयोग गर्नुहुने ईन्द्र सिं थिङलाई सम्मान गरिँदै ।

हेटौँडाः हेटौँडा–१५, फायरलाइनस्थित वनदेवी आधारभूत विद्यालयको ३४ औं अभिभावक भेला सोमबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डिल बहादुर घिमिरेको अध्यक्षता तथा वडा अध्यक्ष सुनिल मोक्तानको प्रमुख आतिथ्यमा अभिभावक भेला भएको हो ।

अभिभावक भेलाको अवसरमा शैक्षिक २०८० मा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । विद्यालय प्रथम हुन सफल आशमान लामा लोप्चन, सरसफाइर्फ कक्षा १ की अश्णु तामाङ, अनुशासनतर्फ कक्षा ७ का अभिषेक थिङ र उच्च हाजिरीतर्फ कक्षा ७ की विन्दिया थिङ प्रशंसापत्रसहित सम्मानित भएका छन् । असल अभिभावकको रुपमा रिमनी लामा र दीपक लामालाई प्रशंसापत्रसहित सम्मान गरिएको छ । कार्यक्रममा विद्यालय परिसरमा सरस्वती मन्दिर निर्माण गर्न नगद एक लाख एक सय २५ रुपैयाँ सहयोग गर्नुहुने ईन्द्र सिं थिङसहित परिवारलाई सम्मान गरिएको छ ।

भेलाको अवसरमा विद्यालयबाट अनिवार्य अवकास हुनु भएका शिक्षक उमा कुमारी ढुङ्गेललाई दीर्घसेवा सम्मान प्रदान गरिएको छ । एक जना अपाङ्गता भएका विद्यार्थीसहित एक सय १४ जना दलित तथा छात्राहरूलाई छात्रवृत्ति वितरण गरिएको छ । भेलाबाट वबिता रानाको अध्यक्षतामा ७ सदस्यीय शिक्षक अभिभावक संघ गठन गरिएको छ । संघको सदस्यमा रिमनी लामा, कमला डिम्डुङ, सपना राना, र विमला थापा चयन हुनुभएको छ ।

अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक जयप्रसाद पोखरेलले लेखापरीक्षण प्रतिवेदन, आयव्याय विवरण प्रस्तुत गर्नुभएको थियो । विद्यालयको प्रगति समीक्षा गर्नुहुँदै सहायक प्रधानाध्यापक कुमार रुम्बाले चालु शैक्षिक सत्रको प्रस्तावित योजनाहरू प्रस्तुत गर्नुभएको थियो । चालु शैक्षिक सत्रका लागि विद्यालयले विभिन्न ४८ वटा योजनाहरु बनाएको छ । अभिभावक भेलामा हेटौँडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका वरिष्ठ विद्यालय निरीक्षक हरिचन्द्र सापकोटाको पनि उपस्थिति रहेको थियो ।