हेटौँडाः कुलेखानी जलाशय भरिने अवस्थामा पुगेपछि जलाशय भरिएर हुने जोखिम न्यूनीकरण गर्न कुलेखानी जलविद्युत केन्द्रबाट विद्युत उत्पादन सुरु गरेको छ । मागभन्दा बढी विद्युत् उत्पादन भइरहेकाले कुलेखानी आयोजना नियमित रुपमा सञ्चालन नगरिरहेको सन्दर्भमा भारी वर्षासँगै कुलेखानीको जलाशयमा पानी भरिने क्रममा रहेकोले पानीको खपत हुने र विद्युत पनि उत्पादन हुने भएकोले सञ्चालन गरिएको हो ।
३ दिनदेखि कुलेखानीबाट विद्युत उत्पादन बन्द थियो । त्यसअघि ७०० मेगावाट विद्युत उत्पादन गरिएको कुलेखानीबाट जोखिम घटाउन कुलेखानी पहिलो आयोजना संचालनमा ल्याएको कुलेखानी प्रथम जलविद्युत केन्द्रका प्रमुख तारादत्त भट्टले जानकारी दिनुभाये । कुलेखानी जलाशयको पानी १ हजार ४ सय ८४ मिटर उचाइसम्म प्रयोग गर्न मिल्छ । जलाशयमा संकलन गरिएको पानीमध्ये ४६ मिटर मात्र विद्युत् उत्पादनमा प्रयोग हुन्छ । कुलेखानी जलाशयबाट ३ वटा आयोजना सञ्चालनमा छन् । कुलेखानी प्रथम आयोजनाबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी कुल १ सय ६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी तिर्थराज चिलुवालका अनुसार कुलेखानी जलाशय भरिँदै गएपछि जोखिम घटाउन विद्युत उत्पादन सुरु गरिएको हो । कुलेखानी प्रथम आयोजनालाई पूर्ण क्षमतामा संचालनमा ल्याइएको उहाँले जानकारी दिनुभयो । अन्यत्रको विद्युत उत्पादन घटाएर कुलेखानी संचालन गर्नेगरी विद्युत उत्पादन थालिएको प्रजिअ चिलुवालले बताउनुभयो । कुलखानीको पानी डिस्चार्ज नहुँदासम्म विद्युत उत्पादन गर्न भनिएको उहाँले स्पष्ट पार्नुभयो । कुलेखानी जलाशयको जोखिम क्षेत्रमा सुरक्षा निकायहरुलाई सतर्क अवस्थामा राखिएको र नागरिकलाई सु–सुचित गर्न माइकिङको व्यवस्था गरिएको उहाँले बताउनुभयो । स्थानीय तहको समन्वयमा जोखिम क्षेत्रहरुमा सचेतनाको काम भइरहेको उहाँको भनाई छ ।
