Home मुख्य समाचार बागमतीमा ६० दिनदेखि मन्त्री बेरोजगार, मन्त्रालय थप्ने विषयमा एमालेको ‘अब्जेक्सन’ कायमै

बागमतीमा ६० दिनदेखि मन्त्री बेरोजगार, मन्त्रालय थप्ने विषयमा एमालेको ‘अब्जेक्सन’ कायमै

हेटौंडाः बागमती प्रदेशमा एक मन्त्री बेरोजगार भएको ६० दिन पूरा भएको छ । विभागीय जिम्मेवारी नपाउँदा कांग्रेसबाट मन्त्री बन्नुभएका मदुकुमार श्रेष्ठ बेरोजगार बसिरहनु भएको छ ।

मन्त्री श्रेष्ठलाई २ कोठाको छुट्टै कार्यालय व्यवस्थापन गरिएको छ भने हेटौंडा–८ मा निजी घर भाडामा लिएर क्वाटरको व्यवस्थापन गरिएको छ । विभागीय जिम्मेवारी नहुँदा उहाँ न नीतिगत काममा जोडिन सक्नुभएको छ, न कुनै निर्णायक भूमिका र बजेट परिचालन तथा कार्यान्वयनमा काम गर्न पाउनुभएको छ ।

साउन ९ मा मुख्यमन्त्री बहादुर सिंह लामासँगै अन्य ८ जना मन्त्रीले सपथ लिँदा मन्त्री श्रेष्ठले पनि सपथ लिनुभएको थियो । एमालेबाट ६ जनाले विभागीय मन्त्रीको रुपमा सपथ लिँदा कांग्रेसका श्रेष्ठसहित अन्य ३ जनाले बिनाविभागीय मन्त्रीकै रुपमा सपथ लिनुभयो । कांग्रेसका सँगै सपथ लिएका बिनाविभागीय मन्त्रीले मात्र नभई १२ साउनमा कांग्रेसका तर्फबाट थपिएका ४ जनाले विभागीय मन्त्रीको जिम्मेवारी पाएर काम गरिरहेका छन् । तर, श्रेष्ठ भने आज पनि बिनाविभागीय मन्त्रीकै रुपमा हुनुहुन्छ र जिम्मेवारी पाउन सक्नुभएको छैन ।

एक स्वकीय, पिएसओ र गाडी सुविधासहित उहाँ गृहजिल्ला धादिङ, प्रदेश राजधानी हेटौंडा र केही औपचारिक कार्यक्रममा सहभागी हुँदै आउनुभएको छ । मन्त्रिपरिषद् बैठकमा आमन्त्रणपछि मात्र सहभागी हुने मन्त्री श्रेष्ठ औपचारिक कार्यक्रम तथा अनुगमनका काममा पनि खासै निस्केको देखिँदैन । विभागीय जिम्मेवारी, बजेट परिचालन तथा नीतिगत र निर्णायक भूमिका न्यून भएकाले प्रतिबद्धतामा पनि समस्या हुँदा उहाँमा सक्रियता कम देखिएको हो ।

मन्त्री श्रेष्ठको जिम्मेवारीका लागि प्रदेशमा मन्त्रालयको संख्या बढाउनुपर्ने हुन्छ । हालको अवस्थामा प्रदेशमा मन्त्रालयको संख्या बढ्ने अवस्था देखिँदैन । प्रदेशमा रहेको १३ वटा मन्त्रालयलाई १४ बनाउन सत्ता साझेदार दल एमाले तयार देखिँदैन । जसका कारण उहाँ बिनाविभागीय भएर बेरोजगार भइरहनु भएको हो ।

सत्ता गठबन्धन दल कांग्रेस र एमालेबिच तत्काल १३ मन्त्रालय रहेको प्रदेशमा कांग्रेसले मुख्यमन्त्रीसहित ७ र एमालेले ६ मन्त्रालय लिने सहमति भएको थियो । तर, कांग्रेसभित्रको गुट र भागबण्डाका कारण मुख्यमन्त्री लामाले मन्त्रीको संख्या बढाउनुभएको थियो । मन्त्री बनाउने विषयमा कांग्रेसभित्र देखिएको किचलोका व्यवस्थापन गर्ने गरी मन्त्री श्रेष्ठलाई जिम्मेवारीविहिन राख्ने निर्णय गरिएको थियो ।

मन्त्री व्यवस्थापनको विषयमा मुख्यमन्त्री लामा दोहोरो दवावमा हुनुहुन्छ । एकातर्फ सरकारको आलोचना बढिरहेको छ भने अर्कोतर्फ पार्टीको दवाव पनि बढ्दो छ । आन्तरिकरुपमा नै दवावमा पर्नुभएका लामाको संकटमा साझेदार दल नै अर्को समस्या बनेको छ । मन्त्री व्यवस्थापनका विषयमा संविधानले दिएको अधिकार कार्यान्वयनमा मुख्यमन्त्री लामाको कदम अघि बढिरहेको छ । तर, एमाले मुख्यमन्त्री लामाको उक्त यात्रामा साझेदार बन्न नसक्ने बताउँदै आएको छ । एमाले कुनै पनि अवस्थामा मन्त्रालयको संख्या बढाउन नहुने तर्क राख्दै आएको छ । मुख्यमन्त्री लामाको मन्त्री व्यवस्थापनको योजनामा एमालेको ‘अब्जेक्सन’ विगतदेखि नै रहँदै आएको छ । जुन सरकार सञ्चालनमा मुख्यमन्त्री लामाका लागि तगारोजस्तै बनेको हो । सोही कारणले सत्ता गठबन्धनमा दरारको स्थिति झैं बनेको छ ।

मन्त्रालय बाँडफाँडको समयमै मन्त्रीको संख्या १४ पु¥याएको भन्दै एमालेले विरोध गरेको थियो । १४ मन्त्रालय बनाएको विषयमा बिरोध गरेको एमाले बिनाविभागीय मन्त्रीको सवालमा मौन देखिएको छ । एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक मधुसुदन पौडेलका अनुसार तत्काल मन्त्रालयको संख्या बढाउने सवालमा कुनै छलफल नै भएको छैन । बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने विषयमा छलफल नै नभएकाले सहमति बन्ने अवस्था नरहेको उहाँले बताउनुभयो । मुख्यमन्त्री लामाको सहयोगीको रुपमा मन्त्री श्रेष्ठलाई अघि बढाउने सहमति रहेको उहाँले बताउनुभयो । मन्त्रालयको संख्या बढाएर जिम्मेवारी दिने विषयमा एमाले सहमत नरहेको उहाँको भनाइ छ ।

‘मन्त्रालयको संख्या बढाउनु हुँदैन भन्नेमा एमालेको अडान छ । केही विषयहरु केन्द्रमा पनि निर्भर हुन्छ । विगतमा पनि केन्द्रले केही निर्णय पठाएको थियो । नागरिक तहमा आलोचना बढिरहेको छ । यसमा सचेत हुनुपर्छ । साझेदार दल भएको हिसाबले हामी पनि सचेत छौं । हामीले मुख्यमन्त्रीलाई आग्रह पनि गरेका छौं । आगामी सातामा केही निश्कर्ष आउन सक्छ ।’ उहाँले भन्नुभयो ।

छिट्टै जिम्मेवारी तोक्छौंः मुख्यमन्त्री
मुख्यमन्त्री लामाले पार्टीभित्र मन्त्रीको आकांक्षी धेरै हुँदा मन्त्रीको संख्या थप्न बाध्य भएको बताउनुभयो । तत्कालको अवस्थालाई व्यवस्थापन गर्न उक्त निर्णय गरिएको उहाँको भनाइ छ ।

उहाँले केहि दिनभित्रै बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने दावी गर्नुभयो । उहाँको यो दावी मुख्यमन्त्री भएकै दिनदेखि नै चलेको हो । करिब २ महिनादेखि मुख्यमन्त्री लामा रेडिमेड उत्तर बोकेर सुशासनका भाषणबाजीमा व्यस्त रहँदै आउनुभएको छ । मुख्यमन्त्री लामाको छिट्टै र मन्त्री श्रेष्ठको जिम्मेवारी भने अझै अन्योल नै रहेको छ ।

‘मन्त्री मदुकुमार श्रेष्ठलाई विभागीय जिम्मेवारी दिने विषयमा सत्ता साझेदार दल एमाले र कांग्रेसका केन्द्रीय नेतासँग कुरा भइरहेको छ । एमालेका नेताहरु पनि बिनाविभागीय मन्त्रीलाई जिम्मेवारी दिने विषयमा सहमत हुनुहुन्छ । तर नयाँ मन्त्रालय थप्ने वा भइरहेकोलाई टुक्र्याउने भन्ने विषयमा भने अन्योलता छ ।’ मुख्यमन्त्री लामाले भन्नुभयो ।

Exit mobile version