हेटौँडाः मकवानपुर जिल्ला साइक्लिङ संघको आयोजनामा एकदिवसीय साईकल प्रशिक्षण सम्पन्न भएको छ । शनिबार बिहान हेटौँडा–४ स्थित श्रमिक माध्यमिक विद्यालय परिसरमा प्रशिक्षण कार्यक्रम भएको हो । कार्यक्रममा ७ वर्षदेखि १७ वर्ष उमेर समूहका ३० जना बालबालिका सहभागी थिए । साईकल चलाउने आधारभूत तालिमको सौद्धान्तिक शिक्षा तथा अभ्यास गराइएको छ ।
नेपाल साइक्लिङ स्कूलकी संस्थापक लक्ष्मी मगर, प्रतिक थापा र चन्द्र थापाले प्रशिक्षण कार्यक्रममा सहजीकरण गर्नुभएको थियो । साइकल नियमित प्रयोग गर्ने, स्वास्थ्यका दृष्टिले प्रयोग गर्ने क्रम बढेको उल्लेख गर्नुहुँदै प्रशिक्षक लक्ष्मी मगरले सही तरिकाले साइकल चलाउन जान्दा स्वास्थ्यमा समेत सकारात्मक लाभ हुने भएकोले साइकल चलाउने तरिका सिक्न जरुरी रहेको औँल्याउनुभयो । सन् २०१९ मा सम्पन्न दक्षिण एसियाली खेलकुदमा साइक्लिङतर्फ स्वर्ण पदक विजेता लक्ष्मी मगरले काठमाडौंमा साइक्लिङ स्कूल नै स्थापना गरी ५ दिनदेखि चार वर्षसम्मको साइक्लिङ कोर्ष सञ्चालन गर्दै आएको जानकारी दिनुभयो ।
तालिममा सीमित संख्यामा मात्रै सहभागी गराइएको उहाँले स्पष्ट पार्नुभयो । काठमाडौं उपत्यका बाहिर पहिलो पटक हेटौँडामा साइक्लिङसम्बन्धी प्रशिक्षण सञ्चालन गरिएको जानकारी दिनुहुँँदै उहाँले मकवानपुरमा साइक्लिङप्रति बालबालिकाको आकर्षण र कलाबाट प्रभावित भएको बताउनुभयो । मकवानपुर जिल्ला साइक्लिङ संघका अध्यक्ष संगीत श्रेष्ठले एक दिवसीय प्रशिक्षण राम्रो भएको बताउनुभयो । सुरक्षित साइकलयात्राका लागि प्रशिक्षणको कार्यक्रम राखिएको उहाँको भनाइ छ ।