Home मुख्य समाचार महेन्द्र माविको अभिभावक भेला, व्यवस्थापन समिति सदस्यमा २६ जनाको उम्मेदवारी

महेन्द्र माविको अभिभावक भेला, व्यवस्थापन समिति सदस्यमा २६ जनाको उम्मेदवारी

अभिभावक भेलाको अवसरमा विद्यार्थीलाई पुरस्कृत गर्नुहुँदै प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य एका लाल श्रेष्ठ । फाइल तस्वीर ।

हेटौँडाः हेटौँडा–१३, पदमपोखरीस्थित महेन्द्र माध्यमिक विद्यालयको ५४ औं अभिभावक भेला आइतबार सम्पन्न भएको छ । भेलाबाट व्यवस्थापन समिति पुनर्गठनको प्रयास गर्दा २६ जना अभिभावकको उम्मेदवारी दर्ता गराएका छन् । २ जना महिला अभिभावक चयन गर्नुपर्नेमा १६ जनाको र २ जना खुलातर्फ १० जनाको उम्मेदवारी परेको विद्यालयका प्रधानाध्यापक विष्णु श्रेष्ठले जानकारी दिनुभएको छ ।

व्यवस्थापन समिति सदस्य बन्न उम्मेदवारी दर्ता गराउने सबै वास्तविक अभिभावक भए नभएको जाँच गरी सोमबार सहमतिको प्रयास गरिने प्रधानाध्यापक श्रेष्ठले बताउनुभएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शंकर बहादुर रोक्काको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य एका लाल श्रेष्ठको प्रमुख आतिथ्यमा अभिभावक भेला समारोह भएको हो । कार्यक्रममा वडाअध्यक्ष पेम्बा लामा, वडा सदस्यहरु उत्तम गोम्जा र रञ्जु गोम्जा, पूर्वविद्यार्थी समाजका अध्यक्ष दिलबहादुर स्याङ्बोसहित स्थानीय विभिन्न संघ, संस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो ।

अभिभावक भेलाको अवसरमा कक्षागत उत्कृष्ट विद्यार्थी, नियमित विद्यालय उपस्थित हुने विद्यार्थीलाई पुरस्कृत गरिएको छ । यस्तै उत्कृष्ट नतीजा हासिल गर्न सहयोग गर्ने शिक्षक, कर्मचारी, विद्यालयलाई सहयोग गर्ने व्यक्ति, संघ, संस्थालाई सम्मान गरेको छ । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा ९ सय ७९ जना विद्यार्थी अध्ययनरत छन् । अभिभावक भेलामा विद्यालयका प्रधानाध्यापक विष्णु श्रेष्ठले विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

प्रधानाध्यापक श्रेष्ठले विद्यालयको भौतिक अवस्था राम्रो रहेको उल्लेख गर्नुहुँदै टाढाका विद्यार्थीलाई विद्यालय आउजाउ गर्न बस थप्नुपर्ने अवस्था रहेको बताउनुभयो । अहिले विद्यालयको एउटा बस सञ्चालनमा रहेको छ । विद्यालयको शैक्षिक गुणस्तरमा थप सुधार गर्न अभिभावकको भूमिका बढाउन पनि आवश्यक रहेको उहाँको भनाइ छ ।

Exit mobile version