हेटौंडाः बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले मातहतका कार्यालय प्रमुखसँग कार्यसम्पादन सम्झौता गर्नुभएको छ । बागमती प्रदेश प्रहरी कार्यालयअन्तर्गतको प्रहरी कार्यालयका प्रमुखहरुसँग प्रत्यक्ष एवम् भर्चुअल माध्यमबाट आर्थिक वर्ष २०८१/०८२ को वार्षिक कार्यसम्पादन सम्झौता गरिएको हो ।
चालु आर्थिक वर्षको लागि बागमती प्रदेश प्रहरीअन्तर्गतका बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर, नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे, बागमती प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालय १० वटा गरी १४ वटा कार्यालयका प्रमुखहरुसँग प्रदेश प्रहरी प्रमुखले कार्यसम्पादन सम्झौता गर्नुभएको छ ।
कार्यक्रममा नेपाल प्रहरी प्रदेश कार्यालय बनेपासहित बागमती प्रदेश प्रहरी कार्यालय मातहत प्रहरी प्रमुखहरुले प्रस्तुतिकरण गर्नु भएको थियो । सो अवसरमा बागमती प्रदेश प्रहरी प्रमुखले सम्झौतामा उपस्थित कार्यालय प्रमुखसहित मातहत इलाका प्रहरी कार्यालय स्तरसम्मलाई भर्चुअल माध्यमबाट नेपाल प्रहरीको प्रमुख कार्य अपराध अनुसन्धान, गस्ती व्यवस्थापन, विशेष योजना, ट्राफिक व्यवस्थापन, वार्षिक कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयन गर्ने र चाडपर्व लक्षित सुरक्षा योजना बनाई प्रहरी परिचालन गर्नेलगायतको आवश्यक निर्देशन दिनुभएको हो ।