हेटौंडाः नेपाली हिन्दू महिलाहरुको प्रमुख पर्व तीजको अन्तिम दिन आज आइतबार ऋषिपञ्चमी मनाइँदैछ । भाद्र शुक्ल पञ्चमीका दिनमा महिलाहरुले विशेष विधिसहित पञ्चमी स्नान र सप्तऋषिको पूजा आराधना गरी ऋषिपञ्चमी मनाउने परम्परा छ ।
पौराणिक कथनअनुसार नारीहरु रजस्वला हुँदा जानेर वा अन्जानमा गरिएका पापबाट मुक्ति पाउनका लागि पञ्चमी स्नान तथा सप्तऋषिको पूजा गर्ने गरिन्छ । यसदिन महिलाहरुले बिहानै नजिकको नदी, खोला, तलाउ वा पोखरीमा गई विधिपूर्वक स्नान गर्ने गर्दछन् । दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गरिन्छ ।
ऋषि पञ्चमीका दिन सप्तऋषिको पूजा गर्नाले मुक्ति मिल्ने धार्मिक विश्वास छ । विधिपूर्वक स्नान गरेपछि अरुन्धतीसहित अत्रि, गौतम, भारद्वाज, जमदग्नि, वशिष्ठ, कश्यप र विश्वामित्र ऋषिको पूजा गरिने हुँदा यसलाई ऋषिपञ्चमीको पूजा भनिएको हो ।
हरितालिका तीजको व्रत एवम् पूजा महिला र पुरुष दुबैले गर्ने शास्त्रीय मान्यता रहे पनि ऋषिपञ्चमीको स्नान, व्रत एवम् पूजा भने महिलाले मात्र गर्नुपर्ने धर्मशास्त्रविद्को भनाइ छ । नारीहरुले आफ्नो सौभाग्य सूचक सिन्दूर, पोते, चुरा, धागोलगायत सामग्री सप्तऋषिलाई चढाउने गरिन्छ ।
ऋषिपञ्चमीका दिन स्नान गरी पूजाआजा गरेपछि माटोमा कसैले नरोपी आफैँ प्राकृतिकरुपमा उम्रिएका वा हलो नलागेका खानेकुराहरु खाने गरिन्छ । नरोपी उम्रेका अन्न सामा, कागुनो, कन्दमूल आदि खाने परम्परा छ । कर्कला, तामा आदिको तरकारी खाने एक छाक हविष्य बस्नुपर्ने व्रतविधि रहेको छ ।