Home विचार साँस्कृतिक विचलन र विकृतहरुको पञ्जाबाट तीजलाई मुक्त गर्ने कि ?

साँस्कृतिक विचलन र विकृतहरुको पञ्जाबाट तीजलाई मुक्त गर्ने कि ?

रमेशप्रसाद लामिछाने

१. तीज एक महत्वपूर्ण पर्व हो । आम हिन्दु महिलाहरुको पहिचान हो । बिवाहित छोरीहरु जन्मघर अर्थात माईतीमा जम्मा भएर एकापसमा सुख दुखका क्षणहरु साटासाट गर्ने अवसरको रुपमा समेत यो पर्व स्थापित छ । आमा, बुबा, दाजुभाइ, दिदीबहिनीहरु सबै एकैसाथ बसेर खानपिन गर्ने समय हो यो । पारिवारिक जमघटमा प्रत्येकको दिनचर्या, शिक्षा–दीक्षा, पेशा, कामका प्रकृति, सन्तानहरुको स्थिति, रोगव्याध र बिमारीका अवस्था अनि उपचार लगायतका कुराहरुसँगै सुझाव सल्लाह समेत अनुभवहरुको आदानप्रदानबाट हलुका महसुस गर्ने परम्परा बनेको थियो । पीडा र दुखका क्षणहरुबाट मुक्त देखाउन मौलिक रचनाका गीतहरुसहित नाचगान गर्दै रमाईलो गर्ने बेला पनि हो । कहिलेबाट तीज मनाउन शुरु भएको भन्ने एकिन तिथि–मिति कतै उल्लेख भेटिँदैन ।

२. साँस्कृतिक परम्परा, चाडपर्व, रीतिरिवाजलाई मानव जातिको पहिचानकारुपमा बुझ्ने गरिएको छ । मानव सभ्यताका प्रारम्भिक कालखण्डदेखि नै मान्छेले मौलिकताको परिचय उजागर गर्दै आएको पाईन्छ । जंगली युगमा सहज शिकार भेट्दा प्रशन्न भै आफ्नो परिवारमा शारीरिक हाउभाउ प्रदर्शन गर्दै खुशी व्यक्त गर्ने मान्छेले दुश्मनलाई परास्त गरी आपसमा प्रशन्नता बाँड्ने प्रयोजनका लागि विजयोत्सव मनाउन थाल्यो । क्रमशः समय बित्दै जाँदा शताब्दियौं वर्षका अन्तरालमा मौलिक पहिचानका अनेक साँस्कृतिक परम्पराहरु अभ्यास गरिन थालिए । समयानुकूल रुपान्तरण स्वभाविक बन्दै आए । चाडपर्व तथा रीतिरिवाजका पछाडि पौराणिक गाथाहरु जोडिए । स्थान विशेषका प्रत्येक समुदायले अर्काको भन्दा भिन्न संस्कारको अभ्यास गरी आफ्नो फरक चिनारी स्थापित गर्ने प्रतिस्पर्धा समेत भएको पाईन्छ । यिनै पृष्ठभूमिमा धर्म, जात, वर्ण, भाषा, आदिको विस्तारै विकास भएकोमा शंका छैन ।

३. निश्चय नै परम्परागत साँस्कृतिक चाडपर्वहरु हाम्रा मौलिक पहिचानका चिनारी हुन् । ठाउँले ज्यादा फरक पार्छ भनेर उदाहरण दिन आवश्यक लाग्दैन । नेपाली भाषा नै प्रयोग गरिरहेका हाम्रो देशका पूर्वि पहाडदेखि तराई मधेश हुँदै मध्य पहाड तथा उपत्यका र पश्चिमी पहाडीहरुमा फरक शैली र लवज भेटिन्छ । पूर्वी नेपालको मान्छे दार्चुलामा नेपाली भाषा नै नबुझ्ने स्थिति छ । चाडपर्वहरु मनाउने तरिकामा पनि भिन्नता भेटिन्छ । दशैंको टिका पूर्णिमासम्म लगाउने र दशमीको एक दिन मात्र टिका लगाउने यी भिन्न चलन हामीले हाम्रा वरपर नजिकै देखेका छौं । मृत्यु पश्चात १३ दिनसम्म गरिने किरिया छोट्याएर कतै पाँच त कतै सातै दिनमा सक्ने अभ्यास पनि हामीले सुनेका छौं । त्यसैले चाडपर्वहरु समय सापेक्ष बन्दै आएका छन् । स्थानले अधिक प्रभाव पारेको तथ्य हामीले भुल्न मिल्दैन ।

४. तीज हिन्दु महिलाहरुको महान पर्व हो । यस पर्वसँग पौराणिक गाथा जोडिएको छ । सत्य युगमा हिमालयकी पुत्री पार्वतीले महादेव पति पाउँ भनी गरेको कठोर व्रतसँग हरितालिका तीज जोडिएको भेटिन्छ । बिवाहित महिलाहरुले पतिको स्वस्थता र समृद्धिको कामना र अबिवाहितहरुले पार्वतीको महादेव झैं शक्तिशाली र सदाचारयुक्त महापुरुष पतिको कामना गरेर बस्ने व्रत नै तीज हो भन्ने गरेको पनि हामीले सुन्ने गरेका छौं । हरियाणा, चण्डिगढ, राजस्थान र पञ्जावमा श्रावण महिनामै मनाईने तीजलाई हरियाली तीजको नामाकरण भएको भेटिन्छ । त्यसतै यहि महिनामै काजरी तीजको नाम दिइएको तीज भारतको उत्तरप्रदेश लगायतका विभिन्न स्थानमा मनाउने गरेको पाइएको छ । तत्कालिन भारतवर्षभर आम हिन्दु महिलाहरुले हरितालिका तीज मनाउँदै आएकोमा कतै बिमति छैन ।

भाद्र कृष्ण अमावश्या अर्थात कुशे आंैसी, यो दिन बुबाको मुख हेर्ने दिनको रुपमा समेत मनाउने चलन पनि पुरानै मानिन्छ । यसै औंसीको दोश्रो दिन अर्थात भाद्र शुक्ल पक्षको द्वितीया तिथिको मध्यरातमा महिलाहरुले खाने वस्तुलाई ‘दर’ भन्ने चलन छ । भोलिपल्ट तृतीया तिथिका दिन सक्दा पानी समेत नपिई थुक पनि ननिली कठोर व्रत बसेर मात्र महादेवको पूजा आराधना गरी साँझमा पानी तथा फलफूल खाने र चतुर्थीका दिन मात्र खाना खाने गर्दछन् । यो चतुर्थीलाई गणेश चतुर्थीको नाम दिइएको छ । अत्यन्त शुद्ध बनी सात्विक खाना खाएर गणेशको पूजा आरती गरी यो रात जाग्राम बस्ने परम्परा पनि कायमै छ । पञ्चमीको दिनलाई ऋषिपञ्चमी नामाकरण गरिएको छ । यस दिन नुहाउने सामग्री र बिधिबारे व्यापक उल्लेख भएको पाईन्छ । पूजाका सामग्रीहरु अबीर, केशरी, वस्त्र, जौ, तिल, कुश, फुल, धुप, दीप, अक्षता, फल, भेटी, नैवेद्यका अतिरिक्त दतिवन, माटो, लगायतका तोकिएका वस्तुहरु तोकिएकै संख्यामा लिई नदीमा नै विधिपूर्वक नुहाउने कामलाई पञ्चमी स्नान भन्ने गरिएको छ । स्नान पश्चात सप्तऋषिहरुको तोकिएको विधिपूर्वक पूजा आराधना गरेरमात्र यो पर्वको समापन गर्ने परम्परा रहेको छ ।

५. पछिल्ला वर्षहरुको तीजले मौलिकता गुमाएको छ । परिमार्जनका नाममा पहिचान संकटमा पुगेको छ । ‘दर’ खाने भन्दै महिनाभर पार्टी प्यालेसमा हुने जमघट र भेला यो पर्वको पहिचान होईन । महँगा गहना र कपडाहरुको प्रदर्शन अनि छाडा र अश्लिल गीत र नाचहरुले संस्कार र साँस्कृतिक विकृतिलाई प्रश्रय प्रदान गरिनु कुनैपनि कोणबाट सकारात्मक भन्न सकिँदैन । यो साँस्कृतिक विचलनको उदाहरण हो । आधुनिकताका नाममा हाम्रा सामाजिक मूल्य मान्यता, साँस्कृतिक पहिचान, परम्परागत संस्कार, धार्मिक ऐतिहासिक मर्मको उपहास गर्न र तोडमरोड गर्न हुँदैन । यसो भनिरहँदा परम्परागत मान्यताका मानव सभ्यताका विकास र समृद्धिका बाधक अनि जडता एवम् अन्धपरम्परा भने बोकिरहनु पर्छ भन्ने कतै छैन । यी अन्धता र आधुनिकता दुबै अति, समग्र मानव जातिकै लागि प्रत्युत्पादक बन्न सक्छन् । सँगै हिन्दु संस्कार र संस्कृति पर्याप्त लचकतापूर्ण भएको तथ्यबाट हामी सबै जानकार छौं भन्दा अतिशयोक्ति नहोला । बालबालिका, बृद्ध, रोगी, अशक्तहरुले कठोर व्रत बस्नै पर्छ भनेर कतै भनिएको छैन ।

६. अन्तमा, तोकिएकै दिनमा मात्र चाडपर्व मनाउने हो । जहिले पनि दशैंको टिका र भाइटिका लगाएर यी पर्व मनाइयो भने त्यो साँस्कृतिक विचलनको पराकाष्ठा बन्न सक्छ । वर्तमान विद्यालय, क्याम्पस र सरकारी कार्यालयहरु महिनौं दिनदेखि तीज मनाउन व्यस्त रहनु अनि सहकारी संस्थाहरु, व्यावसायिक संस्थाहरु, पेशागत संगठनहरु, वन समूहहरु, टोल विकासहरु, राजनीतिक दलहरु र उनीहरुका भगिनी संगठन तथा संघहरु यी सबैले तीजको मर्म र मान्यताको उपहास मात्र नभई साँस्कृतिक विचलन र विकृति बढाइरहेकोमा शंका छैन । यसको आर्थिक पक्ष त झनै कहालीलाग्दो छ । पार्टी प्यालेसमा आयोजना हुने भोजको मूल्य महँगै पर्छ । यस्ता ठाउँमा भड्किलो पहिरन सहितका हेभी खाना खर्चको मूल्य तिरिरहँदा विपन्न किसान मजदूर जसले बिहान बेलुकाको छाक टार्न दिनभर अर्काकोमा श्रम गर्नै पर्दछ, त्यो श्रम पनि सहजै पाइँदैन र तिनीहरुका सन्तानको शिक्षा–दीक्षा त झनै संकटमा रहेकासँगै बिरामी परेको अवस्थामा उपचार नपाएर ज्यान गुमाउनेहरुलाई एक पटक सम्झिने प्रयत्न गरिनु पर्ने हो ।

यो महिनौसम्म गरिने तडकभडकको खर्चले कैयौं क्यान्सर पीडितलाई बचाउन सकिन्छ । धेरै मृगौला पीडित र ब्रेन ट्युमर भएकाको उद्दार गर्न सकिन्छ । दिमाग तिक्ष्ण भएका तर आर्थिक विपन्नताकै कारणले डाक्टर र ईन्जिनियर बन्ने सपना तुहाएका विद्यार्थीहरुलाई सहयोग गर्न सकिन्छ । यी एकाध उदाहरण मात्र हुन् । यस्ता अनेकौं क्षेत्र छन् । यी चाडपर्वका नाममा गरिने भड्किलो र अनुत्पादक खर्चबाट युवा पलायनमा कमी ल्याउने कार्यमा राजनीतिक पार्टीहरुले नै अग्रसरताका साथ रचनात्मक र श्रृजनात्मक सेक्टरमा चासो र गम्भिरता देखाउन यस आलेखले ध्यानाकर्षणका लागि अपेक्षा गरिएको छ । (लेखक सेवानिवृत शिक्षक हुनुहुन्छ ।)

Exit mobile version