हेटौंडाः बागमती प्रदेशमा सरकारले ३ दिनसम्म संविधान दिवस मनाउने भएको छ । विभिन्न कार्यक्रम आयोजना गरी प्रदेश सरकारले ३ दिनसम्म संविधान दिवस मनाउने निर्णय गरेको हो । मंगलबार मुख्यमन्त्री बहादुर सिंह लामाको अध्यक्षतामा बसेको बैठकले दिवस मनाउन ४३ सदस्यीय मुल समारोह समिति गठन गरेको छ । मुख्यमन्त्री लामा संयोजक रहेको उक्त समितिमार्फत् दिवसको अवसरमा विभिन्न गतिविधि तथा कार्यक्रम सञ्चालन गरिने प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुर दर्जीले जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव दर्जीका अनुुसार समितिमा संघ तथा प्रदेशका सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय, विभिन्न संघसंस्थाहरु रहेका छन् । सो समितिका सदस्यहरुको संयोजनमा विभिन्न कायक्रमहरु सञ्चालन हुने उहाँले बताउनुभयो । दिवसको अवसरमा असोज १ गते सामाजिक विकास मन्त्रालयले ‘संविधान कार्यान्वयनका नौ वर्षः उपलब्धि र चुनौती’ विषयक प्रदेश राजधानी रहेको जिल्लाका क्याम्पसस्तरीय निबन्ध प्रतियोगिता आयोजना गरिनेछ । संविधान दिवसकै अवसरमा वन तथा वातावरण मन्त्रालयले उपयुक्त स्थानमा वृक्षरोपण, युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रसेवक र नागरिकको सहभागिता हुनेगरी खेलकुद कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ ।
यस्तै, दिवसको अवसरमा २०८० सालको एसईई परीक्षामा सामुदायिक विद्यालयबाट प्रदेशस्तरमा सर्वोत्कृष्ट जिपीए प्राप्त गर्ने एक जना छात्रा र एक जना छात्रलाई नगद पुरस्कार वितरण गर्ने, स्वास्थ्य मन्त्रालयमार्फत् स्वास्थ्य शिविर सञ्चालन, अपांगता भएका व्यक्तिहरुलाई कृत्रिम अंग प्रदान, रक्तदान कार्यक्रम र सरसफाई गर्ने निर्णय गरिएको छ । असोज ३ गते विशेष समारोहसहित दिवस मनाउने निर्णय गरिएको छ । दिवसको अवसरमा सरकारी कार्यालय परिसर, प्रदेश राजधानीको बुद्धचोक र बसपार्क तथा सार्वजनिक सवारी साधनहरुमा राष्ट्रिय झण्डा फहराउने, दीप प्रज्ज्वलन गर्ने निर्णय गरिएको छ ।