हेटौँडाः बलपूर्वक बेपत्ता पारिएका पीडितहरुको अन्तर्राष्ट्रिय दिवस (अगष्ट ३०) को अवसरमा एमनेष्टी ईन्टरनेशनल नेपाल समूह ६७ र फरेस्ट्री युवा नेटवर्कले शनिबार हेटौँडामा दवावमूलक र्याली निकालेको छ । हेटौँडा–१० बाईपास चोकबाट शुरु भएको र्याली बुद्धचोक परिक्रमा गरी कोणसभामा परिणत भएको थियो ।
एम्नेष्टि ईन्टरनेशनल समूह ६७ हेटौँडाका निवर्तमान संयोजक एवम् सल्लाहकार हेमन्त ढुंगेलले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नुभएको थियो । संस्थाले हेटौँडामा २२ वर्ष अगाडि एम्नेष्टिको समूह–६७ स्थापना गरी सबैखाले गैरन्यायिक गतिविधि विरुद्ध आवाज उठाउँदै आएको निवर्तमान संयोजक ढुंगेलले बताउनुभयो ।
समूहका संयोजक प्रकाश ढकालको सभाध्यक्षतामा भएको कार्यक्रममा फरेस्ट्री युवा नेटवर्ककी संयोजक साधना पौडेलको पनि उपस्थिति रहेको थियो । विश्वभर १० लाख भन्दा बढी सदस्य र समर्थक रहेको एम्नेष्टी इन्टरनेशनल मानव अधिकार केन्द्रित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । यसले मानव अधिकारको विश्वव्यापी घोषणापत्र र अन्य अन्तर्राष्ट्रिय मानव अधिकारका घोषणाहरु निहित सबै मानव अधिकारहरू प्रत्येक व्यक्तिले प्राप्त गर्ने अभियान चलाउँदै आएको छ ।