Home खेलकुद जोन स्मृति फुटबलः नयाँबस्तीलाई हराउँदै रमनटार सेमिफाइनलमा प्रवेश

जोन स्मृति फुटबलः नयाँबस्तीलाई हराउँदै रमनटार सेमिफाइनलमा प्रवेश

हेटौंडाः प्रथम संस्करणको जोन राना मगर स्मृति फुटबल प्रतियोगिताको बुधबार भएको खेलमा विजयी हुँदै रमनटार क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । मकवानपुरको मनहरी गाउँपालिका वडा–६ स्थित जोगीताल खेल मैदानमा जारी खेलमा नयाँबस्ती क्लबलाई १–० गोलले हराउँदै रमनटार सेमिफाइनलमा प्रवेश गरेको हो । रमनटारको जीतमा रोमन श्रेष्ठले निर्णायक गोल गरेका हुन् ।

यस्तै, बुधबार भएको पहिलो खेलमा जनहित युवा क्लबलाई टाइब्रेकरमा ४–१ गोल अन्तरले हराउँदै एफसी मिन्था क्वार्टरफाइनलमा प्रवेश गरेको छ । निर्धारित समयमा एक–एक गोलको बराबरीमा रोकिएर खेल टाइब्रेकरमा पुगेको थियो । जनहितबाट साजन लामाले एक गोल गरेका थिए भने मिन्थाबाट अमित चौधरीले गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।

प्रतियोगिताअन्तर्गत आज बिहीबार क्वार्टरफाइनल चरणको अन्तिम दुई खेल हुँदैछ । प्रतियोगिताबाट हेटौंडा फुटबल एकेडेमी, विजयुन एफसी, चितवन जिल्लाको भरतपुर महानगरपालिका, योग ज्योति क्लब, बेलचोक, सुनादेवी, एफसी मनहरी, एफसी सिम्पानी, लामिटार, कमलादेवी, सशस्त्र प्रहरी बलको एपीएफ, जय मनकामना, मिसन–८४, जनहित र नयाँबस्तीलाई बाहिरिइसकेको छ ।

२०७२ सालको भूकम्पमा परेर निधन भएका राना मगरको स्मृतिमा सयपत्री युवा क्लबले यस वर्षबाट प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताका लागि प्रथम पुरस्कारको प्रायोजन स्वर्गीय जोनका दाजु जकै राना मगरले गर्नुभएको छ भने द्वितीय पुरस्कारको प्रायोजन सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहले गरेको बताइएको छ ।

प्रतियोगितालाई सफतापूर्वक सम्पन्न गर्नका लागि प्रहरी परिचालन, स्वयम्सेवकको व्यवस्था र मनोज जिम्बाको संयोजकत्वमा सुरक्षा व्यवस्था समिति गठन गरेको छ । प्रतियोगिताका लागि विभिन्न निकायहरुबाट सहयोग प्राप्त भएको आयोजक कमिटीले जानकारी दिएको छ ।

प्रतियोगिताको उपाधि विजेता टिमले ३० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेता टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, विधागत खेलाडीहरु उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, हाइ स्कोरर, उत्कृष्ट फरवार्डलगायतका खलाडीहरुले २ हजार रुपैयाँ नगद राशिसहित ट्रफी प्राप्त गर्नेछन् । विभिन्न खेलाडीहरुलाई फुटबल खेलको महत्व बुझाउन, खेलाडीको प्रतिस्पर्धात्मक क्षमता बढाउन र खेलाडीहरुबीच भातृत्व कायम गराउनका लागि क्लबले प्रतियोगिता आयोजना गर्न सुरु गरेको बताएको छ । प्रतियोगितालाई निरन्तरता दिने आयोजक कमिटीको योजना रहेको छ ।

प्रतियोगिताको फाइनल खेल भदौ १७ गते हुनेछ । प्रतियोगिताका लागि करिब १ लाख ३० हजार रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।

Exit mobile version