Home मुख्य समाचार वन विज्ञान संकायमा स्नातक तहको अध्ययन गर्न आवेदन खुल्यो

वन विज्ञान संकायमा स्नातक तहको अध्ययन गर्न आवेदन खुल्यो

हेटौँडास्थित कृषि तथा वन विज्ञान विश्वविद्यालयअन्तर्गत वन विज्ञान संकायको कार्यालय ।

हेटौँडाः कृषि तथा वन विज्ञान विश्वविद्यालय (एएफयु) वन विज्ञान संकायले स्नातक तह (बीएस्सी) अध्ययनका लागि आवेदन खुला गरेको छ । संकायले साउन ३० गते बुधबारदेखि भदौ २४ गतेसम्म स्नातक तहमा वन विज्ञान अध्ययन गर्न चाहने विद्यार्थीका लागि आवेदन खुलाएको हो ।

वन विज्ञान संकायको स्नातक तह (बीएससी) का लागि हेटौँडामा ८५ जना विद्यार्थीको कोटा रहेको संकायका उपप्रशासक प्रदीपकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । यस्तै, एएफयु वन विज्ञान संकायले उदयपुर जिल्लाको कटारीमा ५४ जना र पश्चिम नवलपरासीको गैंडाकोटमा ५० जनाको कोटामा आवेदन खुलाएको छ ।

एएफयु वन विज्ञान संकायको तथ्याङ्कअनुसार विद्यार्थीहरुले बीएससी अध्ययनका लागि आवेदन दिने क्रम कम भएको छ । २०७६ सालमा बीएससीका लागि एक हजार १५ जना विद्यार्थीले आवेदन दिएका थिए । २०७७ सालमा एक हजार ४३ जना, २०७८ सालमा ८ सय ५३ जना, २०७९ सालमा ४ सय ४० जना र २०८० सालमा २ सय ८३ जना विद्यार्थीले आवेदन दिएका थिए ।

यस्तै, त्रिभुवन विश्वविद्यालयअन्तर्गतको वन विज्ञान अध्ययन संस्थान, हेटौंडा क्याम्पसले वन विज्ञानमा स्नातक तह (बीएससी) अध्ययन गर्न चाहने विद्यार्थीका लागि साउन ९ गतेदेखि आवेदन खुला गरिसकेको छ । ८२ जना विद्यार्थी अध्ययन गराउने गरी खुला गरिएको आवेदन दिने समय आगामी भदौ १२ गतेसम्म रहेको छ ।

वन विज्ञान अध्ययन संस्थानको हेटौंडा क्याम्पसमा यसअघि ८० जना विद्यार्थीको कोटा रहेकोमा यसवर्ष विदेशी विद्यार्थीका लागि दुईवटा कोटा थप गरिएको छ । वन विज्ञान अध्ययन संस्थान हेटौँडा क्याम्पसको स्नातक तहमा यसवर्ष ७६ जना विद्यार्थी उत्तीर्ण भएका छन् ।

Exit mobile version