Home खेलकुद पुरस्कारका लागि मन्त्रीलाई खेलाडी संघको ध्यानाकर्षण, खेलाडीको हितमा प्रतिवद्ध छुः मन्त्री महर्जन

पुरस्कारका लागि मन्त्रीलाई खेलाडी संघको ध्यानाकर्षण, खेलाडीको हितमा प्रतिवद्ध छुः मन्त्री महर्जन

बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई ध्यानाकर्षणपत्र बुझाउँदैको तस्वीर ।

हेटौंडाः पुरस्कार उपलब्ध गराइदिन माग गर्दै बागमती प्रदेशका युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जनलाई ध्यानाकर्षणपत्र बुझाइएको छ । खेलाडी संघले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा घोषणा भएको पुरस्कार उपलब्ध गराउन माग गर्दै मन्त्री महर्जनलाई ध्यानाकर्षणपत्र बुझाएको हो ।

बिहीबार हेटौंडा–६ स्थित युवा तथ खेलकुद मन्त्रालयमा खेलाडी संघका केन्द्रीय सदस्य अजित गुरुङ नेतृत्वको समूहले मन्त्री महर्जनलाई ध्यानाकर्षण गराएको हो । गत २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म सम्पन्न ९ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा बागमती प्रदेशबाट प्रतिनिधित्व गरी पदक विजेता खेलाडीलाई नगद पुरस्कार दिने घोषणा भएको गुरुङले बताउनुभयो ।

स्वर्ण, रजत तथा कास्य पदक प्राप्त गरेका खेलाडीहरुलाई प्रोत्साहनस्वरुप प्रदेशबाट क्रमशः १ लाख, ७५ हजार र ५० हजार रुपैयाँका दरले नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरिएको उहाँले बताउनुभयो । उक्त खेलकुद प्रतियोगिता सम्पन्न भएको २ वर्षसम्म पनि पुरस्कार प्राप्त हुन नसकेकाले सो विषयमा तत्काल पहल गर्न मन्त्री महर्जनलाई ध्यानाकर्षण गराइएको उहाँको भनाइ छ ।

प्रतियोगिता सम्पन्न भएको लामो अवधिसम्म प्रदेश सरकारबाट पूर्वघोषित पुरस्कार प्राप्त नहुँदा खेलाडीहरुको गुनासो बढिरहेको र पदक प्राप्त खेलाडीमा निराशा छाएको उहाँले बताउनुभयो । उहाँका अनुसार निकट भविष्यमा नै हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै पूर्वघोषित नगद पुरस्कार खेलाडीहरुलाई उपलब्ध गराउन माग गरिएको छ । पुरस्कार उपलब्ध गराउन सकेको खण्डमा खेलाडीहरु अझ उत्साहित भएर आगामी प्रतियोगितामा प्रदर्शन गर्ने र बढी पदक जित्न सकिने उहाँले विश्वास व्यक्त गर्नुभयो । उक्त प्रतियोगितमा बागमती प्रदेशले २४ स्वर्ण, ४७ रजत र ७४ काश्यसहित १४५ पदक जितेको थियो ।

खेलाडीको हितका लागि प्रतिवद्ध छुः मन्त्री महर्जन
खेलाडीहरुको माग सम्बोधन गर्दै मन्त्री महर्जनले खेलाडीहरुको हक हित र प्रेत्साहनमा आफू प्रतिवद्ध रहेको बताउनुभयो । खेलकुद क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनका लागि आफूले इच्छा गरेर खेलकुद मन्त्रालयको जिम्मेवारी लिएको उहाँले बताउनुभयो ।

खेलाडीहरुले प्राप्त गर्नुपर्ने पुरस्कार रकमका लागि विभागीय मन्त्रीको हैसियतले प्रदेश सरकारसमक्ष दवाव बढाउने उहाले बताउनुभयो । आफू मन्त्री भएलगत्तै खेलाडीहरुको पुरस्कारको विषयलाई गम्भिरताका साथ अघि बढाएको र सो विषयमा मुख्यमन्त्री र अर्थ मन्त्रीसँग निरन्तर छलफल गरिरहेको उहाँको भनाइ छ ।

मन्त्री महर्जनका अनुसार खेलाडीहरुको विषयमा मुख्यमन्त्री र अर्थमन्त्री सकारात्मक रहेका छन् । मन्त्रालयबाट उक्त विषयमा स्पष्ट कार्ययोजनासहित पुनः मुख्यमन्त्री र अर्थ मन्त्रालयमा पत्राचार गरेर पुरस्कार रकम निकासाको पहल गर्ने मन्त्री महर्जनले बताउनुभयो ।

Exit mobile version