नगर उपप्रमुख बानियाँलाई ध्यानाकर्षणपत्र बुझाउँदै शिक्षक महासंघसहित विभिन्न संगठनका शिक्षक नेताहरु ।

हेटौँडाः हेटौँडा उपमहानगरपालिकाले स्थापना गर्न लागेको शिक्षक बैंकसम्बन्धी कार्यविधिमा शिक्षक महासंघले १५ बुँदे सुझाव पेश गरेको छ । शिक्षक महासंघले अन्य शिक्षक संगठनहरुको समेत सहभागितामा ६ बुँदामा शिक्षक बैंक स्थापनाको प्रयासलाई सकारात्मक समेत भनेको छ ।

नेपाल शिक्षक महासंघ हेटौँडा उपमहानगर समितिका अध्यक्ष दीपक अधिकारीको नेतृत्वमा शिक्षकको एक समूहले सोमबार हेटौँडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलाई ध्यानाकर्षणपत्र बुझाएको हो । महासंघले नगरप्रमुख मीना कुमारी लामालाई नै ध्यानाकर्षणपत्र बुझाउने तयारी गरे पनि नगरप्रमुख लामा उपलब्ध नहुनुभएपछि नगर उपप्रमुख बानियाँलाई ध्यानाकर्षणपत्र बुझाइएको हो ।

शिक्षक बैंक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि–२०८१ मा शिक्षक लामो अवधिको विदामा रहने अवस्थामा सिकाई क्षतिको परिपूरणका लागि तत्काल शिक्षक व्यवस्थापन हुनु, विद्यालयलाई शिक्षक छनोटका लागि हुने व्ययभारको अन्त्य हुनु, बालविकास सहजकर्ता र कर्मचारीको परीक्षाका लागि पाठ्यक्रम तयार हुनु, विषयविज्ञ गोलाप्रथाबाट छनोट हुनु, सूचीकृत विज्ञलाई अन्य शैक्षिक तथा प्राज्ञिक कार्यमा प्रयोग गर्न सकिने भनी उल्लेख हुनु र पारदर्शी हुने प्रयास गर्नुलाई शिक्षक महासंघले सकारात्मक भनेको छ ।

शिक्षक बैंक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि बनाउँदा सरोकारवालासँग परामर्श नगर्नुलाई कमजोरीको रुपमा व्याख्या गर्दै महासंघले शिक्षक रिक्त रहने विद्यालयको सन्दर्भमा सरुवा भएर आउन चाहने शिक्षकलाई प्राथमिकता दिनुपर्ने, विषयविज्ञको योग्यताको विषयमा पनि महासंघले सुझाव दिएको छ । बालविकास सहजकर्ताका लागि विषयविज्ञ हुन मन्टेश्वरी वा प्रारम्भिक बालविकास सम्बन्धी कम्तिमा तीन महिने तालिम लिएको हुनुपर्ने, प्राविधिक विषयको शिक्षक छनोट भन्दा बाहेक सबै विषयका विषयविज्ञ शिक्षक सेवा आयोगबाट सिफारिस भएको हुनुपर्ने, कार्यविधिको दफा ८ को उपदफा ५ मा उल्लेख भएअनुसार विज्ञ उपलब्ध नभएमा शिक्षा विकास तथा समन्वय इकाई तथा अन्य पालिकामा सूचीकृत विज्ञहरु मध्येबाट परीक्षा समितिले नै गोलाप्रथााद्वारा छनोट गर्नुपर्ने महासंघको सुझाव छ ।

यस्तै परीक्षा समितिले परीक्षाको मर्यादा भंग गरेमा हुने कारवाहीको व्यवस्था गर्नुपर्ने, शिक्षक नियुक्ति कसले गर्ने भन्ने स्पष्ट हुनुपर्ने, पारिश्रमिक शिक्षक सेवा आयोगले निर्धारण गरेबमोजिम हुने भनी व्यवस्था गर्नुपर्ने, परीक्षाको अनुगमनका लागि पालिकाको सामाजिक विकास समितिको संयोजकको संयोजकत्वमा विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु मध्येबाट शिक्षा समितिले तोकेको एकजना र शिक्षक महासंघको अध्यक्ष वा प्रतिनिधि एकजना सदस्य हुने व्यवस्था गर्नुपर्ने सुझाव दिएको छ ।

नेपाल शिक्षक महासंघ हेटौँडा उपमहानगरपालिका समितिका अध्यक्ष दीपक अधिकारी, नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौँडा उपमहानगर कमिटीका अध्यक्ष गोपीरमण प्याकुरेल, नेपाल शिक्षक महासंघ हेटौँडा उपमहानगर समितिका अध्यक्ष मन्दिरा घिमिरेको हस्ताक्षरसहित उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँलाई ध्यानाकर्षणपत्र बुझाइएको छ ।

ध्यानाकर्षणपत्र बुझ्नुभएपछि उपप्रमुख राजेश बानियाँले सरोकारवाला सबै पेशागत संस्थासँग सहकार्य गरेर सुधार गरेर अगाडि बढ्ने बताउनुभयो । सबैको एउटै उद्देश्य शिक्षा क्षेत्रको सुधार गर्नु रहेको उल्लेख गर्नुहुँदै उपप्रमुख बानियाँले कार्यविधि कसरी कार्यपालिकामा आयो र कसरी पारित भयो भन्ने थाहा नै नभएको जीकिर गर्नुभयो । शिक्षकको प्रतिनिधिको पनि सहभागिता सुनिश्चित गर्नुपर्नेमा उपप्रमुख बानियाँ सहमत हुनुहुन्छ ।