Home मुख्य समाचार बागमती प्रदेशमा विपद् व्यवस्थापनमा बीमाको बहस, विज्ञ नियुक्त गरेर योजना कार्यान्वयन गर्न...

बागमती प्रदेशमा विपद् व्यवस्थापनमा बीमाको बहस, विज्ञ नियुक्त गरेर योजना कार्यान्वयन गर्न समितिको निर्देशन

हेटौँडाः नेपालमा अहिले मनसुनको मध्य अवधि चलिरहेको छ । मनुसन भित्रिएदेखि देशका विभिन्न स्थानमा विपद्का घटनाहरु भइरहेका छन् । हरेक वर्ष विपद्मा परेर मानवीयसँगै अर्बौं रुपैयाँ बराबरको भौतिक क्षति समेत व्यहोर्नु परेको अवस्था छ ।

मनसुनजन्य विपद्को दृष्टिले बागमती प्रदेश उच्च जोखिममा रहेको छ । बहुप्रकोपी विपद्को जोखिममा रहेको बागमती प्रदेशमा बाढी पहिरो लगायतका विपद्जन्य घटना हुने गरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती प्रदेशका ६ जिल्ला उच्च जोखिममा रहेका छन् भने अन्य ७ जिल्ला मध्यम जोखिममा रहेका छन् । प्रदेशका १३ जिल्ला मध्ये रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट र दोलखा विपद्को उच्च जेखिममा रहेका छन् भने मकवानपुर, सिन्धुली, रामेछाप, काभ्रे, काठमाडौं, भक्तपुर र ललितपुरमा जोखिम कम रहेको विभागले उल्लेख गरेको छ ।

गत आर्थिक वर्षमा मात्र विपद्का घटनामा परेका बागमती प्रदेशका १३ जिल्लामा ८८ जनाको मृत्यु भएको तथ्यांक रहेको छ । प्रदेशभर भएका ८५६ वटा विपद्का घटनाहरुमा परेर १८४ जना घाइते भएका छन् भने ४३ जना बेपत्ता भएको प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विपद्का कारण ६१९ वटा पशु चौपाया, १८९ वटा भौतिक पूर्वाधार र आर्थिक रुपमा ५१ करोड ६७ लाख रुपैयाँको क्षति व्यहोरेको छ ।

विपद्का घटना न्यूनीकरणका लागि विभिन्न पहल पनि गरिरहेको छ । तर, पहल अनुसारको नतिजा भने प्राप्त हुन सकेको छैन । विपद् व्यवस्थापन तथा जोखिम न्यूनीकरणका लागि मन्त्रालयले १३ जिल्लामा १ करोड ७० लाख रुपैयाँ बजेट वितरण गरेको छ । सो रकम विपद् व्यवस्थापनका विभिन्न क्रियाकलापसँगै राहत र उद्दारमा खर्च गरेको मन्त्रालयकी सूचना अधिकारी रविता कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार मन्त्रालयले विपद् व्यवस्थापन र न्यूनीकरणका लागि खोज तथा उद्दार कार्य प्रभावकारी बनाउन ३ करोड रुपैयाँको उद्दार सामग्री खरिद गरेको छ । प्रदेशका विभिन्न जिल्लामा हुने विपद्का घटनाहरुमा तत्काल उद्दारमा खटिन सो सामग्रीहरु प्रयोग गर्नेगरी स्टोर गरिएको उहाँले बताउनुभएको छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि १९ जनालाई गोताखोर तालिम प्रदान गरिएको उहाँले बताउनुभयो । विपद् व्यवस्थापन वेस (गुल्म) भवन हेटौँडा र काभ्रेमा निर्माण भई सञ्चालनमा ल्याएको सचिव पूर्णबहादुर दर्जीले बताउनुभएको छ । विपद् सुरक्षा संस्कृति निर्माण गर्ने उद्देश्यसहित विपद् व्यवस्थापनका लागि स्वयम्सेवक समूह निर्माण तथा परिचालनका लागि प्रदेश स्वयम्सेवक व्युरो तथा स्वयम्सेवक परिचालन सम्बन्धी कार्यविधि, २०८० तर्जुमा गरी कार्यान्वयनमा रहेको उहाँको भनाई छ । सो कार्यविधि अनुसार प्रदेशका ११ स्थानीय तहका वडास्तरमै स्वयम्सेवक समूह गठन गर्नका लागि ४ लाख २५ हजार रुपैयाँका दरले आर्थिक सहायता अख्तियारी प्रदान गरिएको उहाँले बताउनुभयो ।

प्रदेशमा विपद् बीमाको अभ्यासको बहस समेत सुरु भएको छ । प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरण र राहतमा अधिकतम सेवा प्रदान गर्ने उद्देश्य अनुसार बीमा गर्ने विषयलाई बहसमा ल्याएको हो । त्यसो त गत साउन १६ मा बसेको प्रदेशसभाको प्रदेश मामिला समितिको बैठकमा समेत विपद् बीमाको विषयले प्राथमिकता पाएको थियो । बैठकमा प्रदेश सभा सदस्यहरुले बीमा मार्फत् नागरिकको आर्थिक तथा मानवीय क्षतिको जोखिम बहन गर्न सकिने बताएका थिए । सो विषयमा तत्काल छलफल गरी ढाँचा तयार गर्न उनीहरुले आग्रह गरेका थिए । प्रदेश सरकार र नागरिकको अपनत्व रहने गरी बीमा कार्यक्रम तय गर्न सके उपयुक्त हुने उनीहरुको भनाई थियो ।

उक्त विषयमा प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले समेत छलफल र प्रक्रिया अघि बढाउन रुलिङ गर्नुभएको थियो । उहाँले नागरिकको हित हुने र विपद् जोखिम न्यूनीकरणमा सबैपक्षको दायित्व तथा जिम्मेवारी रहने गरी बीमा कार्यक्रम तय गर्न निर्देशन दिनुभएको थियो । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पूर्णबहादुुर दर्जीका अनुसार विभिन्न प्रकोपबाट हुन् सक्ने विपद्को जोखिमलाई बीमाको माध्यमबाट हस्तान्तरण गर्ने योजना रहेको छ । सो विषयमा संघीय सरकार, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त निर्देशन प्रदेश सरकारले ढाँचा तय गर्ने उनको भनाई छ ।

विपद्का कारण जोखिम र क्षति व्यहोरेका नागरिकको राहतका लागि बीमाको विषयमा बहसको थालनी गरिएको उहाँले बताउनुभयो । गृह मन्त्रालयको केही दिनअघि बसेको बैठकले पनि बीमाको विषयमा केही निर्णय गरेको र सोही आधारमा प्रदेश सरकारले थप निर्णय तथा काम अघि बढाउने तयारी गरेको उहाँको भनाई छ । ‘हामीले अहिले विपद् बीमाको विषयमा छलफल गरिरहेका छौं ।

विशेषगरी संघीय सरकारले तय गरेको मार्गदर्शन अनुसार विपद् व्यवस्थापनमा काम भइरहेकाले सोही अनुसार मोडल तयार गर्ने विषयमा मन्त्रालयले सोच निर्माण गरेको छ ।’ उहाँले भन्नुभयो, ‘पहिलो त संघीय सरकारको बीमाका विषयमा के निर्णय हुन्छ । त्यो आधारमा प्रदेश सरकारको आवश्यक थप प्रक्रिया र निर्णय गर्ने हो । केही दिनअघि गृह मन्त्रालयमा पनि विपद् बीमाका विषयमा केही निर्णयहरु भएको छ । त्यसको परिपत्र प्राप्त भएपछि थप आधारहरु तयार हुनेछ ।’

प्रदेश सरकारले विपद् जोखिम न्यूनीकरणमा गरेका पहलहरुलाई अझ सशक्त र प्रभावकारी बनाउन ऐनमा नै बीमाका विषय समावेश गर्ने र कार्यान्वयनमा जाने तयारी गरेको उहाँले बताउनुभयो । ऐनको व्यवस्था अनुसार कार्यविधि, नियमावली तयार गरेर विपद् जोखिम बहनको क्षेत्राधिकार फराकिलो बनाउने र प्रभावित नागरिकलाई आर्थिक सहायतामा सघाउ पुग्ने गरी अघि बढाउने सरकारले तयारी गरेको उहाँले जानकारी दिनुभयो । केन्द्रको निर्णयको परिपत्र प्राप्त भएसँगै विभागीय मन्त्रालयको हिसाबले प्रदेशमा बीमाका विषयमा छलफल अघि बढाउने र ठोस मोडल तथा कार्यक्रम निर्धारण गरिने सचिव दर्जीको भनाई छ ।

प्रदेश मामिला समितिको साउन १६ गतेको बैठकले विपद् व्यवस्थापनमा सरकार गम्भिर भएर अघि बढ्न निर्देशन दिएको छ । बैठकले विपद् व्यवस्थापनका लागि राहत उद्दारसँगै जोखिम न्यूनीकरणका कार्यक्रम प्रभावकारी बनाउन निर्देशन दिएको हो । प्रदेशमा हुने कुनैपनि किसिमका प्राकृतिक तथा गैरप्राकृतिक विपद्को प्रतिकार्यका लागि मन्त्रालय तयारी अवस्थामा रहनु पर्ने र त्यसका लागि ठोस कार्यक्रम तयार गर्न निर्देशन दिएको हो । समितिका सभापति छिरिङ दोर्जे लामाले विपद् व्यवस्थापनमा विज्ञहरु नियुक्त गरेर कार्यक्रमहरु अघि बढाउन निर्देशन गरेका छन् ।

उनले हचुवाका भरमा योजना तथा कार्यक्रम निर्धारण उपयुक्त नहुने भएकाले विज्ञको सुझाव अनुसार काम गर्नुपर्ने बताउनुभयो । सोही अनुसार प्रदेशको अवस्था र विपद्को अध्ययन तथा भुगोलका विषयमा जानकारी भएका व्यक्तिलाई विपद् व्यवस्थापनमा सहभागी गराउन सरकारलाई निर्देशन दिनुभएको छ । उहाँले विपद् व्यवस्थापनका लागि भुगर्भविद्, वातावरणविद्हरु नियुक्त गरेर योजनाहरु कार्यान्वयन गर्नुपर्ने भएकाले तत्काल सो विषयमा निर्णय गर्न निर्देशन दिनुभएको छ ।

Exit mobile version