प्रधानमन्त्री केपी शर्मा ओली (बीचमा) सँग बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा (बायाँ) र नेकपा एमाले बागमती प्रदेश सभा संसदीय दलका नेता जगन्नाथ थपलिया (दायाँ)।

हेटौंडाः बागमती प्रदेश सरकारका मन्त्रीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाको नेतृत्वको टोलीले प्रधानमन्त्री ओलीसँग भेट गरेको हो ।

भेटका क्रममा प्रधानमन्त्री ओलीले प्रदेशको वस्तुस्थिति, राजनीतिक अवस्था र सरकारको काम कारवाहीका विषयमा ब्रिफिङ लिनुभएको थियो । प्रधानमन्त्री ओलीले प्रदेश सरकारले गरिरहेका योजना कार्यान्वयनका विषयमा चासो व्यक्त गर्नु भएको थियो भने मुख्यमन्त्री लामाले उक्त विषयमा जानकारी गराउनु भएको थियो ।

एमाले र कांग्रेसका नेता तथा मन्त्रीहरुसहितको टिमसँगको भेटमा प्रधानमन्त्री ओलीले समन्वय र सहकार्यमा काम गर्न निर्देशन दिनु भएको छ । ओलीले राजनीतिक नियुक्ति, जिम्मवारी बाँडफाँडलगायतका विषयमा छलफलका माध्यमबाट सहमति गर्न र आपसमा सौहार्दता कायम गर्न निर्देशन दिएको प्रदेशका खानेपानी, उर्जा तथा सिँचाइमन्त्री श्यामबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार सन्तुलितरुपमा राज्यका निकायको वितरण र उपभोगमा सचेत हुन प्रधानमन्त्री ओलीले आग्रह गर्नुभएको छ । आपसमा मतभेद हुने किसिमका गतिविधिमा नलाग्न उहाँको निर्देशन रहेको मन्त्री खड्काले बताउनुभयो । विकास बजेट खर्च, योजना छनौटमा गम्भिर भएर काम गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको मन्त्री खड्काले बताउनुभयो ।

विषेशगरी २ वर्षसम्ममा सक्ने प्रकृतिको योजनाहरु कार्यान्वयनमा प्रधानमन्त्री ओलीले जोड दिनुभएको छ । उहाँले राजनीतिक सम्झौताअनुसारको सरकार निर्माणमा आफूले पाएको समय सीमाभन्दा एक साता अघि नै राजीनामा दिएर गठबन्धनमा इमानदारी रहने बताउनु भएको थियो ।

कांग्रेस बागमती प्रदेशका मुख्य सचेतक गोविन्द लम्सालले सुशासन र नागरिकहरुको अपेक्षा अनुसारको विकासमा जोड दिन प्रधानमन्त्री ओलीले निर्देशन दिनु भएको बताउनुभयो । समस्याको घडीमा संघीय सरकारले प्रदेश सरकारलाई आवश्यक सहयोग गर्ने प्रधानमन्त्री ओलीले प्रतिबद्धता व्यक्त गरेको उहाँले बताउनुभयो ।

मुख्य सचेतक लम्सालका अनुसार प्रधानमन्त्री ओलीले काम निर्धारित समयमा नै पूरा गर्न र अधुरा कामलाई प्राथमिकताका साथ अघि बढाउन निर्देशन दिनुभएको छ । संघीयतको सशक्त पिल्लर प्रदेश सरकार भएकाले त्यसलाई बलियो बनाउने भूमिका पनि प्रदेशको नै हुने प्रधानमन्त्री ओलीले बताएको मुख्य सचेतक लम्सालको भनाइ छ । संघीय सरकारबाट प्रत्यायोजन हुने अधिकारका विषयमा कानुनी र प्रक्रियागतरुपमा प्रदेशलाई प्राप्त हुनेमा निश्चिन्त रहन प्रधानमन्त्री आलीले आश्वासन दिनु भएको मुख्य सचेतक लम्सालले बताउनुभयो । प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयन र संघीयताको सवालमा निश्चिन्त रहन आग्रह गरेको मुख्य सचेतक लम्सालले बताउनुभयो ।

भेटमा बागमती प्रदेशका मुख्यमन्त्री लामासहित मुख्य सचेतक लम्साल, एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया, कृषि तथा पशुपन्छी विकासमन्त्री प्रकाश श्रेष्ठ, भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के, वन तथा वातावरणमन्त्री कृष्णप्रसाद सिलवाल, उद्योग वाणिज्य भूमि तथा प्रशासनमन्त्री सुकमाया तामाङ, स्वास्थ्यमन्त्री किरण थापा, श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछाने, खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री श्याम खड्का, युवा तथा खेलकुदमन्त्री मीनकृष्ण महर्जन, संस्कृति, पर्यटन तथा सहकारीमन्त्री विमल ठकुरी, बिना विभागीय मन्त्री मदुकुमार श्रेष्ठको उपस्थिति रहेको थियो भने आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्ले उपस्थित हुनुभएन ।