हेटौँडाः हेटौँडा–५, भैरवरोडस्थित घरमै मृत भेटिएका दम्पत्तिको पोष्टमार्टम गरिएको छ । शुक्रबार चितवनस्थित भरतपुर अस्पतालमा श्रीमान श्रीमती दुबैको शव पोष्टमार्टम भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहले जानकारी दिनुभयो ।
बुधबार दिउँसो ४ बजेर ४५ मिनेटको समयमा ६२ वर्षीय केशव भण्डारी र श्रीमती ५६ वर्षीया अम्बिका भण्डारी मृत भेटिएका थिए । श्रीमतीको धारिलो हतियार प्रयोग गरी हत्या भएको जस्तो अवस्थामा र श्रीमान झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । दुबै जनाको दुई दिनपछि पोष्टमार्टम भएको हो ।
बुधबार नै शव पोष्टमार्टमका लागि हेटौँडा अस्पतालमा लगिएकोमा पोष्टर्माटम गर्ने फरेन्सिक डाक्टर नभएपछि बिहीबार चितवनमा रेफर गरिएको प्रहरी निरीक्षक साहले बताउनुभयो । शवको शुक्रबार पोष्टमार्टम भएपनि त्यसको रिपोर्ट केही दिनमा मात्र आउने उहाँले बताउनुभयो ।
पोष्टमार्टम रिपोर्ट आएपछि मात्र घटनाबारे थप तथ्य पत्ता लाग्ने उहाँको भनाइ छ । मृतक श्रीमान र श्रीमतीका ३४ वर्षीय छोरा दीपक भण्डारीले बिहीबार जिल्ला प्रहरी कार्यालयमा अनुसन्धान गरी पाउँ भनी जाहेरी दिएका छन् ।