हेटौंडा उपमहानगरपालिका ।

हेटौँडाः शिक्षक छनोट समितिमा विज्ञ छनोटको विषयमा विवाद भएपछि हेटौँडा उपमहानगरपालिकाका वडाअध्यक्षहरुले रोकेको शिक्षक छनोट परीक्षा भोलि शुक्रबार र पर्सी शनिबार हुने भएको छ । असार २९ गते शनिबार बिहान हेटौँडा उपमहानगरपालिकाका १० वटा विद्यालयका विभिन्न तहका शिक्षक छनोटको प्रक्रिया सुरु हुँदै गर्दा वडाअध्यक्षहरुले परीक्षा रोकेका थिए ।

हेटौँडा उपमहानगरपालिकाले शिक्षक बैंक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि–२०८१ पारित भइसकेको सन्दर्भमा करार शिक्षक छनोटको अन्तिम चरणको प्रक्रिया सुरु हुनै लाग्दा हेटौँडा–४ स्थित भुटनदेवी माध्यमिक विद्यालयमा निर्धारण गरिएको परीक्षा केन्द्रमा पुगेर वडाअध्यक्षहरुले रोकेका हुन् । हेटौँडा–६, १५ र १६ नम्बर वडाअध्यक्षहरु क्रमशः विष्णुबहादुर दाहाल, सुनिल मोक्तान र रामकृष्ण कोइरालाले परीक्षा रोकेका थिए । १६ नम्बर वडाअध्यक्ष हेटौँडा उपमहानगरपालिकाको सामाजिक विकास समितिको संयोजक समेत हुनुहुन्छ ।

वडाअध्यक्षहरुले रोकेको परीक्षा शिक्षक बैंक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि–२०८१ विपरित सञ्चालनको तयारी भइरहेको बुझिएको छ । कार्यविधिमा विज्ञ छनोटको जिम्मेवारी शिक्षा विकास महाशाखा प्रमुखलाई हुने व्यवस्था छ । कार्यविधि विपरित गोला गरेर शिक्षक छनोट समितिमा विज्ञ मनोनित गर्ने बताइएको छ । शिक्षक बैंक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि–२०८१ लागु भएपछि अन्तिम पटकका लागि परीक्षा हुन लागेको हो ।

भोलि शुक्रबार प्रारम्भिक बालविकास कक्षा र प्राविधिक विषयका शिक्षक छनोटको परीक्षा सञ्चालन हुँदैछ भने पर्सी शनिबार प्राथमिक, निमावि र मावि तहको शिक्षक छनोटका लागि परीक्षा हुँदैछ । शिक्षक छनोटको परीक्षा हेटौँडा–२ स्थित सिद्धार्थ माविमा हुनेछ । हेटौँडा उपमहानगरपालिकाको शिक्षा महाशाखाका प्रमुख सीताराम कोइरालाले भोलि शुक्रबार र पर्सी शनिबार शिक्षक छनोटको परीक्षा हुने जानकारी दिनुभयो । शिक्षा महाशाखाले बुधबार मौखिकरुपमा शुक्रबार र शनिबार परीक्षाको मिति तय गरिएको विद्यालयका प्रधानाध्यापकहरुलाई जानकारी गराएको एक प्रधानाध्यापकले जानकारी दिए ।

असार २९ गते शनिबार हेटौँडा–४ स्थित श्रमिक मावि र भुटनदेवी मावि, हेटौँडा–६ स्थित कृष्ण प्रावि, हेटौँडा–९ स्थित प्रगति माविमा एक एकजना बालविकास सहयोगी कार्यकर्ता, हेटौँडा–३ स्थित बालउज्वल मावि, हेटौँडा–१८ स्थित कालिदेवी प्रावि, हेटौँडा–१५ स्थित चुरियामाई मावि र विश्वज्योति माविमा प्रावि शिक्षक एक एकजना नियुक्तिका लागि परीक्षा हुँदै थियो । यस्तै हेटौँडा–४ स्थित भुटनदेवी माविमा सिभिल इन्जिनियरिङ र हेटौँडा–१६ स्थित जनप्रिय माविमा बालीविज्ञान विषयका लागि प्रशिक्षक नियुक्ति र हेटौँडा–१४ स्थित भृकुटी माविमा लेखापाल नियुक्तिका लागि परीक्षा लिने तयारी हुँदै गर्दा वडाअध्यक्षहरुले परीक्षा रोकेका हुन् ।

उपमहानगरपालिकाले शिक्षक बैंक तथा कर्मचारी व्यवस्थापनसम्बन्धी कार्यविधि कार्यान्वयनको प्रक्रिया अगाडि बढाएकै कारण गत बैशाख महिनादेखि नै शिक्षक नियुक्तिका लागि सूचना गरेका विद्यालयहरुले कार्यविधिले अन्तिमपटकका लागि भनेर एकैपटक परीक्षा सञ्चालन गर्ने भनेपछि शिक्षक छनोटको परीक्षा समेत ढिलो गरी भएको थियो ।