हेटौंडाः हेटौंडामा अनलाइनमा बालबालिकामाथि हुने यौन शोषणविरुद्ध सरोकारवालाहरुको भूमिकाबारे छलफल भएको छ । मंगलबार बाल हेल्पलाइनका अध्यक्ष माधव प्रधानको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा अनलाइन बालयौन शोषणसम्बन्धी तथ्यहरु र अनलाइन बालयौन शोषणबाट बालबालिकालाई जोगाउन सरोकारवालाहरुको भूमिकाबारे छलफल भएको छ । बाल हेल्पलाइनका अध्यक्ष प्रधानले अनलाइन यौन शोषणमा परेका बालबालिकाहरुमा देखिने मानसिक असर ज्यादै नकारात्मक र दूरगामी हुने गरेको पाइएको बताउनुभयो । यसको असरअनुरुप बालबालिकाले पढाइमा ध्यान दिन नसक्ने, आत्महत्या प्रयास र लामो समयसम्म दुःखी हुने गरेको पाइएको उहाँको भनाइ छ ।
बालबालिकाको कमजोरीको फाइदा उठाउन खोज्ने, धम्की दिने, आफूलाई अमर्यादित लाग्ने भिडियो पठाउन दाब दिनेलगायतका कुराहरु साइबर बुलिङका स्वरुप रहेको उहाँले बताउनुभयो ।
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव बद्रीनाथ गैह्रेले आइलाइन बालयौन शोषणबाट बालबालिकाकालाई जोगाउन सरकारको नियमनकारी भूूमिका हुनुपर्ने बताउनुभएको छ । अहिले राज्यसँग नीति, स्रोत, जनशक्ति र प्रविधि कमजोर रहेकाले यस क्षेत्रमा राम्रोसँग काम गर्न नसकिरहेको उहाँले बताउनुभयो । मन्त्रालयले अहिले बालबालिकासम्बन्धी नीति नै बनाएर काम गर्न सुरु गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेपाल दूरसञ्चार प्राधिकरणका पूर्ववरिष्ठ निर्देशक आनन्दराज खनालले सहजीकरण गर्नुभएको थियो । इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्नेहरुमा बालबालिका तथा किशोरकिशोरीहरुको संख्या उल्लेख्य रहेको उहाँले बताउनुभयो । यसमा पनि विश्वव्यापी महामारी कोभिड–१९ पछिको लकडाउनको अवधिमा इन्टरनेट प्रयोग गर्ने बालबालिकाको संख्या बढेको पाइएको उहाँले बताउनुभयो ।
उहाँले विद्यालयको पाठ्यक्रममा अनलाइनमा बालसंरक्षणको विषय समावेश गर्नुपर्ने, बालयौन शोषणाको विषयमा सामुदायिक संस्थाहरु, गैरसरकारी र विभिन्न निकायहरुसँग सहकार्य गर्दै बालसंरक्षण नीति तर्जुमा गरी कार्यान्वय गर्नुपर्ने, अनलाइनमा भएका बालयौन शोषण तथा दुव्र्यवहारसम्बन्धी रिर्पोटिङको व्यवस्था मिलाउनुपर्नेमा जोड दिनुभयो । यस्तै, शैक्षिक संस्थाहरुले कम्प्युटर कक्षाहरुमा इन्टरनेट अनलाइनको सुरक्षा विषय समावेश गर्नुपर्ने, अभिभावक, विद्यालय व्यवस्थापन र शिक्षकहरुबीच अनलाइन सुरक्षाबारे सचेतना फैलाउने वातावरण मिलाउनुपर्ने उहाँले बताउनुभयो ।
बाल हेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले सञ्चालन गर्नुभएको कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख तीर्थराज चिलवालको पनि आतिथ्य रहेको थियो ।