हेटौंडाः ११ वर्षअघिको ज्यान मुद्दाका मुख्य अभियुक्तलाई बारा प्रहरीले सोमबार पक्राउ गरेको छ । बारा प्रहरीले साविक बारा जिल्लाको फेटा गाविस–५ घर भई हाल बारा जिल्ला कलैया उपमहानगरपालिका–१८ का ४४ वर्षीय नन्दु बैठालाई शिक्षक प्रदिपकुमार तिमिल्सिनाको हत्या अभियोगमा पक्राउ गरेको हो । नन्दु बैठा आफ्नो गाउँघरमा प्रवेश गरी लुकिछिपि बसेको भन्ने विशेष सुराकीको आधारमा सोमबार विहान १० वजे जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले बैठालाई आफ्नै गाउँघरमा लुकिछिपि बसेको अवस्थामा फेला पारी पक्राउ गरिएको हो ।
नन्दुसहितको समूहले २०६६ साल बैशाख १७ गते बारा जिल्लाको साविक फेटा गाविस–१ स्थित नेपाल राष्ट्रिय माविका शिक्षक प्रदिप कुमार तिमिल्सीनालाई विद्यालयबाट घर फर्किने क्रममा गोली हानी हत्या गरेको बारा प्रहरीले जनाएको छ । नन्दु बैठासँगै अग्नि भनिने सुनिल जैसवाल, विजय पटेल र रामनारायण सहनी समेतले गोली प्रहार गर्दा शिक्षक तिमिल्सिनाको घटनास्थनमा नै मृत्यु भएको बारा प्रहरीले जानकारी दिएको छ । ज्यान मार्ने उद्योगमा संलग्न मध्ये बारा जिल्लाको गंजभवानीपुर–३ बस्ने सुनिल जैसवाल (अग्नि) लाई २०७० साल साउन २४ गते र बारा जिल्लाको फेटा गाविस–१ बस्ने बिजय पटेललाई २०७३ साल पुस ५ गते पक्राउ गरिएको थियो ।
सुनिल र विजय पक्राउ परेपछि अनुसन्धान पश्चात जिल्ला अदालत बारामा पेश गरिएकोमा सुनिल जैसवाल (अग्नि) लाई सर्वस्वसहित जन्मकैद हुने ठहरी फैसला भएको र विजय पटेल मुद्दा पुर्पक्षमा कारागार कार्यालय बिरगंजमा रहेका छन् । नन्दुलाई पनि पक्राउ गरिएपछि जिल्ला अदालतमा पेश गरिएको बारा प्रहरीले उल्लेख गरेको छ ।