भेटघाट एवम् अन्तरक्रिया कार्यक्रममो क्रममा खिचिएको तस्वीर ।

हेटौँडाः मकवानपुर जिल्ला खेलकुद विकास समितिका नवनियुक्त अध्यक्ष राजकुमार मुक्तानले सबै खेलाडी तथा प्रशिक्षकहरुले खेलको बारेमा सिकेर र सिकाएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । बिहिबार खेलकुद विकास समिति मकवानपुरको कार्यालय परिसरमा भएको परिचयात्मक भेटघाट एवम् अन्तरक्रियालाई सम्बोधन गर्नुहुँदै नवनियुक्त अध्यक्ष मुक्तानले “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद” भन्ने नारामा मात्र सीमित नभई जिल्लामा धेरै पदक ल्याउने खेलाडीहरुलाई जागरुक बनाउन आवश्यक रहेको बताउनुभयो ।

सबै क्षेत्रका प्रशिक्षक तथा खेलाडीहरुले सकारात्मक ढंगबाट खेलको विकासमा अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो । फरक–फरक विधाका खेलाडी तथा प्रशिक्षकहरुले एकरुपता देखाएर अगाडि बढ्न आवश्यक रहेको उहाँको भनाई छ । राष्ट्रियस्तरको खेलकुद र प्रदेशस्तरको खेल प्रतियोगिताहरुमा अब्बल कसरी बन्न सकिन्छ भन्ने कुराको खोज र अनुसन्धान गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । एउटा खेलमात्र नभई सबै खेललाई प्राथमिकतामा राखेर अगाडि ल्याउने, आगामी दिनमा मकवानपुर जिल्लाको हरेक क्षेत्रबाट आउने खेलाडीलाई प्रशिक्षण दिने प्रशिक्षकलाई चिनाउनुपर्ने उहाँले बताउनुभयो ।

सम्पूर्ण खेलमा भरिपूर्ण र परिपक्वता नहुने भएकोले समस्यालाई कसरी न्यूनीकरण गर्ने भन्ने कुरालाई बुझेर सबै हातमा हात र काँधमा काँध लगाएर अगाडि बढ्नुपर्ने उहाँले धारणा राख्नुभयो । पालिका र प्रदेश सरकार सबै क्षेत्रबाट पर्याप्त बजेट उपलब्ध हुनुपर्नेमा पनि उहाँले जोड दिनुभएको छ । अर्थ बिना खेल क्षेत्रलाई अगाडि बढाउन गाह्रो पर्ने, खेलको विकास गर्न नसक्ने र खेलाडी उत्पादन गर्न नसकिने उहाँले दावी गर्नुभयो । फरक–फरक खेलमा आवद्ध भए तापनि खेलाडीहरु सबै बराबरी हुने भएकोले त्यो कुराको सही तरिकाले मुल्याङ्कन गरेर सबै प्रेम तथा सद्भाव रुपमा अगाडि बढ्नुपर्ने बताउनुभयो ।

अन्तरक्रियामा उपस्थित भएको विभिन्न खेलका प्रशिक्षकले जिल्लामा भएको कमजोरी, खेलकुदको विकासका लागि गर्नुपर्ने कामहरु लगायत विभिन्न कुराहरुको सुझाव दिएका छन् । जिल्ला खेलकुद विकास समितिको अध्यक्षसँगै सदस्य मदन कुमार उप्रेतीले पनि पदभार ग्रहण गर्नुभएको छ ।