Home मुख्य समाचार किनारमा राखिएका निर्माण सामग्रीले असुरक्षित बन्दै सडक

किनारमा राखिएका निर्माण सामग्रीले असुरक्षित बन्दै सडक

किनारमा दुर्घटना भएको मोटरसाइकलसहितको तस्वीर

हेटौँडाः किनारमा असरल्ल छाडिएका निर्माण सामग्रीले सडकलाई असुरक्षित बनाइरहेको छ । निर्माण कार्यका लागि थुपारिएका सामग्रीहरुको व्यवस्थापन सही ढंगबाट नहुँदा सडक यात्रा जोखिम पूर्ण बन्दै गएको छ ।

सार्वजनिक, निजी निर्माणका लागि सडक छेउमा निर्माण सामग्री राख्दा सवारी आवगमनमा समस्या हुनुको साथै दुर्घटनाको जोखिम समेत बढेको छ । हेटौंडा बजार क्षेत्रमा साँघुरा सडक र राजमार्गका किनारमा निर्माण सामग्री राख्दा दुर्घटना जोखिम निम्तिने गरेको हो । सडकलाई सुरक्षित बनाउन न राज्यका निकायले ध्यान दिएको छ न निर्माण कम्पनीले चासो दिने गरेको छ ।

राज्यका निकायहरुको उदाशिनता र निर्माण कम्पनीको लापर्वाहीका कारण सडक यात्रा जोखिम पूर्ण बनिरहेको छ । सडक पेटी, नाला तथा अन्य निर्माण कार्य गर्दा ठेकेदारले जथाभावी निर्माण सामग्री सडक किनारमा राख्दा दुर्घटना बढेको हेटौंडा ६ की लक्ष्मी श्रेष्ठले बताउनुभयो । सडकमा असरल्ल रुपमा गिट्टी बालुवा, ढुंगा राख्दा सडकमा आवतजावग गर्न कठिन भइरहेको र साँघुरा सडकमा स्कुल बस, दैनिक उपभोग्य सामग्री ल्याउन समस्या हुने गरेको उहाँको भनाई छ ।

विषेशगरी दुई पांग्रे सवारीसधान निर्माण सामग्रीमा चिप्लिेर लड्ने गरेको हेटौंडा ६ का रोशन सापकोटाले बताउनुभयो । सार्वजनिक तथा नीजि निर्माण कार्यका लागि ल्याइने सामग्रीहरु व्यवस्थापनमा सरोकारवाला निकायले वेवास्ता गर्दा समस्या भएको उहाले बताउनुभयो ।

शुक्रबार मात्र सडक छेउमा थुपारिएको निर्माण सामग्रीमा मोटरसाईकल चिप्लिदाँ २ जना गम्भिर घाइते भएका छन् । शुक्रबार राती ९ः३० बजेको समयमा सडक छेउमा थुपारिएको निर्माण सामग्रीमा चिप्लिएर हेटौंडाबाट हर्नामाडी जाँदै गरेका २ वटा मोटरसाईकल मदन भण्डारी राजमार्ग (धरान चतारा सडक खण्ड) अन्तर्गतको हेटौंडा–६ पुतलिबजार भुलभुले भन्ने स्थानमा दुर्घटनामा परेका थिए ।

दुर्घटनामा २ जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । सडकको ढलको ढकन बनाउनका लागि सडक किनारमा राखेको ग्राभेल र बालुवामा चिप्लीएर बागमती प्रदेश ०३–००३ प ७१२६ नम्बरको मोटरसाईकल चालक हेटौंडा–१८ का सुमन दुलाल र सोही स्थानका बागमती प्रदेश ०३–००५ प ६३०९ नम्बरका चालक विनायक दुलाल घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएको थियो । हेटौंडा अस्पतालमा उपचार हुन नसकेपछि उनीहरुलाई थप उपचारका लागि पुरानो मेडिकल कलेज पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरिक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्माण सामग्रीको व्यवस्थापन सडक क्षेत्रको निर्माण कार्य गराउने र गर्ने व्यवसायिको पहिलो दायित्व हुने हो । दुवै पक्षले उचित व्यवस्थापन गर्न नसक्दा दुर्घटना भएको र त्यस विषयमा सरोकारवाला निकायको रुपमा प्रहरी प्रशासनको ध्यानाकर्षण भएको उहाँले बताउनुभयो ।

यता निर्माण कार्य संचालनको अनुमती दिएको सडक डिभिजन कार्यालय हेटौंडाले भने थोरै अवधिको काम भएकाले सरक्षाको विषयमा प्राथमिकताका साथ हेर्न नभ्याएको जनाएको छ । सम्बन्धीत वडा कार्यालयको सिफारिसमा अत्याआवश्यक भएकाले असारमा मात्रै कोटेशनको आधारमा निर्माण कार्य गरिएको कार्यालय प्रमुख राजेश कुमार यादवले जानकारी दिनुभयो । सडक क्षेत्रको निर्माण कार्यमा प्रयोग हुने सामग्रीको व्यवस्थापन सडक सरक्षालाई ध्यानमा राखेर सम्बन्धीत निर्माण व्यवसायीले गर्नुपर्ने उहाँको भनाई छ ।

Exit mobile version