Home खेलकुद खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा मोक्तान

खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा मोक्तान

प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीबाट नियुक्तिपत्र लिनुहुँदै राजकुमार मोक्तान

हेटौंडाः जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्षमा राजकुमार मोक्तान नियुक्त हुनुभएको छ । बागमती प्रदेश खेलकुद विकास परिषद्को शुक्रबार बसेको बैठकले मोक्तानलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।

मोक्तानले सोमबार प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीबाट नियुक्तिपत्र लिनुभएको छ । यस्तै, परिषद्ले खेलकुद विकास समिति मकवानपुरका लागि दुई जना सदस्यहरु पनि नियुक्त गरेको छ । नियुक्त हुनेहरुमा मदन उप्रेती र कृष्ण रुम्बा रहेका छन् ।

नवनियुक्त अध्यक्ष मोक्तानले जिम्मेवारी भने लिन बाँकी छ । उहाँले बुधबार कार्यालयमा उपस्थित भएर जिम्मेवारी सम्हाल्ने तयारी गरेको बताउनुभयो । हेटौंडा–१२ निवासी ३५ वर्षीय मोक्तानले आफ्नो कार्यकालमा खेलकुद क्षेत्रमा महत्वपूर्ण काम गर्ने दाबी गर्नुभयो । अहिले सबै खेलहरु पैसाको चहलखेलमा हुने र राम्रा खेलाडीहरुले अवसर नपाउने गरेको भन्दै यस्तो परम्पराको आफूले अन्त्य गर्ने बताउनुभयो । उहाँले गाउँगाउँबाट खेलाडी उत्पादनमा जोड दिने बताउनुभयो । उहाँले यसअघिका समितिले गरेको राम्रा कामहरुलाई निरन्तरता दिने पनि बताउनुभएको छ ।

नयाँ समितिको कार्यकाल चार वर्षको हुनेछ । यसअघिका समितिहरुको कार्यकाल दुई वर्ष रहेकोमा त्यसलाई थपेर खेलकुद परिषद्ले चार वर्ष बनाएको हो । मकवानपुर जिल्ला खेलकुद विकास समितिले चार महिनापछि अध्यक्ष पाएको हो । यसअघि गत चैतदेखि मकवानपुर जिल्ला खेलकुद विकास समिति अध्यक्षविहीन रहेको थियो ।

Exit mobile version