Home अन्तरवार्ता विद्यालयमा सम्भव नभएकोले अहिले हामीले रेडियोबाट पठनपाठन गरेका छौं

विद्यालयमा सम्भव नभएकोले अहिले हामीले रेडियोबाट पठनपाठन गरेका छौं

वीरवंश बैठा, प्रधानाध्यापक, आधुनिक राष्ट्रिय मावि

कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न २०७६ साल चैत ११ गतेदेखि लकडाउन गर्नुअघि नै २०७६ साल चैत ६ गतेदेखि बन्द भएका शैक्षिक संस्थाहरु कहिले खुल्ने भन्ने अझै निश्चित छैन । देशभरका लाखौं विद्यार्थी विद्यालय बाहिर छन् । विद्यालयमा नियमित पठनपाठन गर्न नपाए पनि वैकल्पिक अवधारणामा पठनपाठन गर्न सरकारले आव्हान गरेको छ । हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माविले पनि वैकल्पिक विधिको प्रयोग गरेर पठनपाठनलाई अगाडि बढाउने प्रयास गरिरहेको छ । यसै सन्दर्भमा समाज संवाददाता मनिता रानाले आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक वीरवंश बैठा गर्नुभएको कुराकानीः

समाजः आधुनिक राष्ट्रिय माविले अहिले पठनपाठनका लागि के कस्ता क्रियाकलाप गरिरहेको छ ?
बैठाः अहिले लकडाउनका कारण शिक्षाबाट बञ्चित भइरहेका विद्यार्थीहरुका लागि हामीले १ देखि ५ कक्षासम्म अभिभावकहरुलाई हप्तामा २ दिन बोलाउने गरेका छौं र उनीहरुलाई गृहकार्य दिएर पठाउने गरेका छौं । त्यसरी हामीले पठाएको गृहकार्य अभिभावकले घरमा बच्चाहरुलाई गर्न लगाउनु हुन्छ र फेरी अर्काे दिन लिएर आउनु हुन्छ । अभिभावक नै आउनु हुन्छ साना भाइबहिनीलाई बोलाएका छैनौं । त्यस्तै ८, ९, १० को लागि विभिन्न विषयहरुलाई ३ वटा एफएम रेडियोबाट प्रसारण गराइरहेका छौं । यसका साथसाथै फेसबुक पेज, वेभसाइटहरुबाट र राष्ट्रिय प्रसारणबाट र नेपाल सरकारहरुबाट विभिन्न कक्षाहरुबाट जहाँबाट जे पहुँच रहन्छ त्यहीबाट पठनपाठन गर्नु भन्ने सुचना दिएका छौं । साथै अनलाइनबाट केहि विषय पनि सन्चालन भएको छ । तर हाम्रोमा अनलाइन भरपर्दाे छैन । सरकारको तर्फबाट पनि हाम्रो तर्फबाट पनि रेडियो नै बढि प्रभावकारी लाग्छ । रेडियो पहुँच पनि सबैतिर छ त्यसैले सबैभन्दा बढि प्राथमिकता रेडियोलाई दिएका छौं ।

समाजः लगभग २ हजार विद्यार्थी भएको विद्यालयले सबै विद्यार्थीलाई समेट्न कस्तो रणनीति बनाएको छ ?
बैठाः विद्यार्थीहरु सतप्रतिशतरुपमा समेट्न गाह्रो छ । किनभने कक्षा–कोठामा पनि सतप्रतिशत उपस्थित हुँदैनन् भने झन अनलाइनमा समेट्न गाह्रो छ । ६, ७ कक्षाका विद्यार्थीहरुलाई प्रत्येक विषयको गृहकार्य दिने र उनिहरुले गृहकार्य गरिरहेका छन् ।

समाजः विद्यार्थी र अभिभावकको भनाइ, उनीहरुको अपेक्षा के पाउनु भएको छ ?
बैठाः अभिभावकहरुले त सकेसम्म स्कुल नै खोल्न पाए हुन्थ्यो, विद्यालय मै पढाउन पाए हुन्थ्यो भन्नु हुन्छ । तर सरकारले अहिले अनुमति दिएको छैन । भौतिक दुरी कायम राख्न सकिन्न र विद्यालयमा सम्भव नभएकोले अहिले हामीले रेडियोबाट पठनपाठन गरेका छौं र अभिभावकलाई आफु पनि सुन्नु होला र बालबालिकालाई पनि सुनाउनु होला भनेका छौं ।

समाजः स्कुलमा प्रदेश नम्बर २ का विद्यार्थी पनि उल्लेख्य छन् उनीहरुलाई कसरी वैकल्पिक रुपमा पठनपाठनमा सहभागी गराउन सकिन्छ होला ?
बैठाः २ नम्बर प्रदेशका विद्यार्थीहरु ३० प्रतिशत जिल्ला बाहिर छन् । हामीले रेडियोबाट प्रसारण गर्ने कार्यक्रम छ त्यसको बारेमा हामीले तराइको नगरपालिका र गाउँपालिकाको शिक्षाको सरोकारवालासँग कुरा गरेको थियौं । त्यहाँ पनि बैकल्पिक रुपमा टेलिभिजनबाट पनि प्रसारण गर्ने प्रयासमा छौं । टेलिभिजनबाट गर्न पाए राष्ट्रिय र विश्वव्यापी हुने थियो तर अहिले सम्भब छैन । त्यसैले अहिले २ नम्बर प्रदेशको रेडियोलाई पनि प्रसारण गर्नु भनेका छौं ।

समाजः पठनपाठनको अभ्यास र शैलिमा के कस्तो परिवर्तन गर्नुभएको छ ?
बैठाः अहिले प्रविधिको प्रयोग भइरहेको छ । पहिलो प्रविधिबाट पनि सतप्रतिशत विद्यार्थीहरु सामेल हुने सम्भावना छैन । त्यसैले जब विद्यालय खुल्छ पुनः कोेर्षलाई पढाउन लगाउँछौं । विद्यालय क्षेत्रमा मात्र विद्यार्थी हुँदैन बाहिरको पनि हुन्छन् । निजी क्षेत्रका भए हामी घर–घर पनि पुग्थ्यौं तर बाहिरका विद्यार्थी भएर गाह्रो भएको छ । कुनै न कुनै माध्यममा सामेल होस भन्ने आशा गरेका छौं ।

समाजः विद्यालयले संचालन गरिरहेको वैकल्पिक शिक्षण अभ्यासमा अभिभावकको कस्तो किसिमको भूमिका वा सहयोगको अपेक्षा गर्नुहुन्छ ?
बैठाः अभिभावकहरुले टेलिभिजन, रेडियो आदिबाट प्रसारण भएका कार्यक्रम आफ्ना बालबालिकाहरुलाई उक्त समयमा रेडियो, टेलिभिजन अगाडि बस्न लगाउने कापी, कलम लिएर पढ्न लगाउने र उत्साह जगाउने कार्यहरु गर्नुपर्दछ । विद्यालयले अभिभावकलाई यही अनुरोध गरेको छ ।

Exit mobile version