रितिका छत्कुली एसईईमा ४ जीपीए ल्याउने मकवानपुरकी एक्ली विद्यार्थी ।

असार १३ गते बिहिबार राष्ट्रिय परीक्षा बोर्डले विद्यालय शिक्षा परीक्षा (एसईई) को नतीजा सार्वजनिक गर्यो । एसईईको नतीजामा मकवानपुरको नतीजा कमजोर देखियो । यद्यपि मकवानपुर जिल्लामा एसईईमा ४ जीपीए ल्याउन सफल एक मात्र विद्यार्थी बनिन् रितिका छत्कुली । राम्रा विद्यार्थीले उच्च शिक्षा हासिल गर्न काठमाडौं केन्द्रित हुने प्रवृत्ति विपरित रितिकाले कक्षा ११ हेटौँडामै अध्ययन गर्नुहुने भएको छ । एसईईको नतीजा, उच्च शिक्षा अध्ययन र हेटौँडामै रहेर अध्ययन गर्ने विषयमा समृद्ध समाज दैनिकका लागि सुप्रभा चौलागाईले रितिकासँग गर्नुभएको कुराकानीको सम्पादित अंशः

समाजः ४ जीपीए हासिल गरेपछि कस्तो महसुस हुँदैछ ?
छत्कुलीः
निकै खुसी लागिरहेको छ । म हेटौँडाबाट बाहिर थिएँ जब नतीजा आएको थियो । धेरै पटकसम्म नतिजा हेरेँ । विश्वास लागेको थिएन । पछि साथीहरुले फोन गरे, अनि मलाई विश्वास भयो ।

समाजः नतीजाको अनुमान कस्तो गर्नुभएको थियो ?
छत्कुलीः
तयारी ४ जीपीए नै हासिल गर्ने गरी गरिएको थियो । ४ जीपीएको लक्ष्य राखेर पढेको थिएँ र अवश्य ४ जीपीए नै आयो ।

समाजः आफ्नो नतीजाको महत्वपूर्ण पात्र कसलाई मान्नु हुन्छ ?
छत्कुलीः
सर्वप्रथम त म आफै अनि मेरो विद्यालय परिवार, अभिभावक र मेरा साथी सहयोगीहरु सबैको ठूलो भूमिका रहेको भन्न चाहन्छु ।

समाजः विद्यालयमा परीक्षाका लागि कस्तो तयारी गराइन्थ्यो ?
छत्कुलीः
विद्यालयमा अतिरिक्त कक्षा संचालन गराउने, समय समयमा परीक्षा लिने जस्ता अभ्यास गराईन्थ्यो । घरबाट पनि नआएको कुरा सोध्न अनलाइनबाट पनि शिक्षकहरु तयार हुनुहुन्थ्यो । ग्रुपमा पढ्ने र विद्यालयमा अभ्यासहरु दिईन्थ्यो ।

समाजः तपाईको पढ्ने शैली कस्तो छ ?
छत्कुलीः
म लेख्ने र पढ्ने दुबै गर्छु । नबुझेको कुरा तुरुन्तै शिक्षकलाई सोध्ने र त्यसको बारेमा बुझ्ने गर्छु ।

समाजः तपाईको घरमा पढ्ने वातावरण कस्तो छ ? तपाईको अभिभावक के कस्ता काम गर्नुहुन्छ ?
छत्कुलीः
मेरो परिवारमा म सबैसँग सिक्ने गर्छु । मेरो बाबा व्यापारी हुनुहुन्छ । आमा घरमै बस्नुहुन्छ । हजुरबुबा र हजुरआमा घरमा केहि सहयोग गर्नुहुन्छ र दाई पढ्दै हुनुहुन्छ ।

समाजः तपाईले मनोरञ्जनका के कस्ता अभ्यास गर्नुहुन्छ ?
छत्कुलीः
म धेरैजसो साहित्यको विषयमा रुची राख्छु । साहित्य सम्बन्धी किताब पढ्ने गर्छु ।

समाजः तपाई अब कक्षा ११ मा के विषय पढ्ने हुनुभएको छ ? भविष्यमा के बन्नुहुन्छ ?
छत्कुलीः
म यहिँ हेटौंडा स्कूल अफ म्यानेजमेन्टमा ११ र १२ कक्षामा विज्ञान विषय लिई अध्ययन गर्न जाँदैछु । मलाई यस संस्थाले पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । र यो कलेज अनुशासित छ । गुणस्तर छ । मलाई भविष्यमा डाक्टर बन्नु छ । यस कलेजमा मेडिकलको पनि तयारी गराईन्छ । त्यसैले म यहिँ पढ्दै छु ।