हेटौंडाः हेटौंडा उपमहानगरपालिका–१६ को वडा कार्यालयले आयोजना गरेको प्रजनन् स्वास्थ्यसम्बन्धी शिविरमा एकसय १ जना महिलाको स्वास्थ्य जाँच गरिएको छ । मंगलबार हेटौंडा–१६, चिसापानीको हटिया अस्पतालमा भएको भीआईए स्क्रिनिङमा जाँच गराएका एकसय १ जनामध्ये ६ जनामा समस्या देखिएको अस्पतालका वरिष्ठ अहेव अनन्त बास्कोटाले जानकारी दिनुभयो ।
परिवार नियोजन संघ मकवानपुरको प्राविधिक सहयोगमा भएको कार्यक्रममा वडा कार्यालयले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । बास्कोटाका अनुसार शिविरमा आयोजकले एक सय ५० जनाको स्वास्थ्य परीक्षण गर्ने लक्ष्य राखेको थियो । अहिले धेरै ठाउँमा शिविरको आयोजना भइरहेका कारण शिविरमा स्वास्थ्य जाँच गर्न आउने संख्या कम भएको उहाँको भनाइ छ । यस्तै, वडा कार्यालयले साउनको पहिलो सातादेखि नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको प्राविधिक सहयोगमा हप्ताको एक दिन निःशुल्क भीआईए परीक्षण गर्ने भएको छ ।