Home मुख्य समाचार १० कक्षाका विद्यार्थीलाई एक महिना छात्रवासमा राख्ने

१० कक्षाका विद्यार्थीलाई एक महिना छात्रवासमा राख्ने

मकवानपुरगढी गाउँपालिका

हेटौंडाः मकवानपुरगढी गाउँपालिकाले १० कक्षामा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त कक्षा सञ्चालन गरी एक महिना आवासीय छात्रवासमा राख्ने भएको छ । गाउँपालिकाले विद्यार्थीको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले अतिरिक्त कक्षा सञ्चालनसहित होस्टेलमा राख्न लागेको गाउँपालिकाका स्रोत शिक्षक दाशरथि उपाध्याय भण्डारीले जानकारी दिनुभयो ।

गाउँपालिकाभित्र रहेका १० वटा माध्यमिक विद्यालयका छात्रालाई मकवानपुरगढी गाउँपालिका–५ स्थित शारदा माविमा र छात्रलाई मकवानपुरगढी गाउँपालिका–२ स्थित चण्डिका माविमा होस्टेलमा राखिने भण्डारीले जानकारी दिनुभयो । यसवर्ष कक्षा १० मा २ सय जना विद्यार्थी अध्ययनरत रहेका छन् ।

२०८० सालको एसईई परीक्षामा मकवानपुरगढीका विद्यालयबाट न्यून विद्यार्थी पास भएका थिए । ३ सय जना विद्यार्थीले एसईई परीक्षा दिएकोमा ४५ जनामात्र उत्तीर्ण भएका थिए । गाउँपालिकाको शैक्षिक पात्रोअनुसार पहिलो त्रैमासिक परीक्षापश्चात् साउन १ गतेदेखि ३२ गतेसम्म विद्यार्थीहरुलाई होस्टेलमा राखेर पढाउने भएको हो ।

पहिलो त्रैमासिक परीक्षा असार २४ गते सोमबारदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । विद्यार्थीलाई होस्टेल राख्नुको उद्देश्य विद्यार्थीमा पठन संस्कृतिको विकास गराउन, गत वर्षभन्दा राम्रो नतिजा हासिल गर्न, शिक्षाको गुणस्तर वृद्धि गर्न, परीक्षापश्चात् वर्षे बिदाको समयमा विद्यार्थीहरुको ध्यान पढाईबाट नहटोस् भन्ने रहेको छ । यसबारे गाउँपालिकाले विद्यालयलाई परिपत्र गरिसकेको भण्डारीको भनाइ छ ।

Exit mobile version