Home खेलकुद मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिमपानीको विजयी सुरुवात

मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिता सुरु, उद्घाटन खेलमा सिमपानीको विजयी सुरुवात

सिमपानी युथ क्लब

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा प्रथम संस्करणको मिलन–धर्मराज स्मृति फुटबल प्रतियोगिता सुरु भएको छ । सिमपानी युथ क्लबको आयोजनामा बिहीबारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले गर्नुभएको हो ।

गाउँपालिकाको वडा नम्बर ८ को सिमपानी मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक सिमपानी युथ क्लबले विजयी सुरुवात गरेको छ । नमुना युवा क्लबलाई १२–० गोलको फराकिलो अन्तरले हराउँदै सिमनापी युथ क्लबले विजयी सुरुवात गरेको हो । सिमपानीको तर्फबाट राज भुसालले ६ गोल, राहुल थाप मगरले ३ गोल, सुमन लामाले २ गोल र दावा गुरुङले १ गोल गरेका हुन् ।

अब सिमपानी क्लबले सेमिफाइन प्रवेशका लागि हेटौंडा फुटबल एकेडेमी र कैलाश आरएमबीचको विजेता टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ । आज शुक्रबार इन्द्रकमल युथ क्लब र एमडीवाइसी बाराबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको छ । प्रतियागिता आयोजनाका लागि विभिन्न निकायहरुबाट सहयोग प्राप्त हुने बताइएको छ ।

क्लबका अध्यक्ष किरण सुवेदीको सभाध्यक्षमा सुरु भएको प्रतियोगितामा गाउँपालिकाका उपाध्यक्ष सीता पुलामी मगरको विशिष्ट आतिथ्य रहेको थियो । प्रतियोगिताको उपाधि विजेता टिमले एक लाख रुपैयाँ र उपविजेता टिमले पचार हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको फाइनल खेल असार ३१ गते हुनेछ ।

Exit mobile version