Home मुख्य समाचार नयाँ सत्ता समीकरणः बागमतीमा पहिलो पटक कांग्रेसको सरकार बन्ने

नयाँ सत्ता समीकरणः बागमतीमा पहिलो पटक कांग्रेसको सरकार बन्ने


हेटौंडाः सत्ता समीकरण परिवर्तनको चर्चासँगै बागमती प्रदेश सरकारको जग पनि धर्मराएको देखिन्छ । केन्द्रमा एमाले–कांग्रेस गठबन्धनको सरकार बन्ने सहमति बनेसँगै प्रदेशमा पनि सोही अनुकूल सरकारको नेतृत्व हुने देखिएको हो ।

केन्द्रीय तहमा बनेको एमाले–कांग्रेस सहमतिअनुसार बागमती प्रदेश सरकारको भाग कांग्रेसको पोल्टामा पर्नेछ । एमाले–कांग्रेस गठबन्धनमा भएको सहमतिअनुसार कांग्रेसले बागमती सरकारको नेतृत्वको अवसर पाउनेछ । संघीयता कार्यान्वयनपश्चात् बागमतीमा पहिलो पटक कांग्रेसले सरकारको नेतृत्व गर्नेछ ।

संघीयता कार्यान्वयनको ७ वर्षे अवधिमा प्रमुख प्रतिपक्ष दलबाट प्रदेशमा भूमिका निर्वाह गरेको कांग्रेस विगत ३ वर्ष सत्ता साझेदार दल बनेको थियो । २०७८ कात्तिकमा सत्ता साझेदारी गर्दै सरकारमा गएको कांग्रेसले नेतृत्व भने प्राप्त गर्न सकेको थिएन । २०७८ मा कांग्रेस सहितको समीकरणबाट एकीकृत समाजवादी पार्टीका राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेश सरकारको नेतृत्व पाएका थिए । सो समयमा मुख्यमन्त्री त्याग गरेर निर्वाचनको तयारीमा लागेको कांग्रेसले २०७९ पुसमा गठित सरकारमा पनि स्थान पाउन सकेन । २ महिना प्रतिपक्षमा रहेको कांग्रेस चैतमा मात्र सरकारमा फर्कियो ।

एमाले, माओवादी केन्द्र र राप्रपाको गठबन्धनको २ महिने सरकार ढलेपछि २०७९ चैतमा कांग्रेस सरकारमा सहभागी भएको थियो । सो समयमा पनि मुख्यमन्त्रीको सशक्त दावी गरेको कांग्रेसले माओवादी केन्द्रलाई सघाउँदै सरकारको नेतृत्व लिएको थियो । एक वर्षसम्म सञ्चालन भएको उक्त गठबन्धनको सरकारको समीकरण २०८० फागुनमा भत्कियो । सोलगत्तै कांग्रेस सरकारबाट बाहिरियो र केन्द्रको भन्दा फरक समीकरणबाट सरकार गठनको कसरतमा जुट्यो । तर, कांग्रेसको सो प्रयास असफल बन्यो । अन्ततः पुनः माओवादी केन्द्रकै नेतृत्वमा एमाले, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीको सत्ता साझेदारी बन्यो । कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा पुग्यो ।

कांग्रेस विगत ४ महिनादेखि प्रमुख प्रतिपक्षको भूमिकामा रहँदै आएको छ । संघीयता कार्यान्वयनपछि भएका २ वटा निर्वाचनबाट अधिकांश समय कांग्रेस प्रमुख प्रतिपक्षको भूमिकामा नै रहँदै आएको छ । २ कार्यकालको ७ वर्षे अवधिमा कांग्रेस २६ महिना (२ वर्ष २ महिना) मात्र सरकारमा रह्यो । सो बाहेका अधिकांश समय प्रतिपक्षमा रहेर भूूमिका निर्वाह गर्दै आएको छ ।

माओवादीलाई पनि समेट्ने प्रयत्न हुन्छः कांग्रेस

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता बहादुर सिं लामाले केन्द्र सरकारको समीकरण निक्र्यौल भएपछि प्रदेशको समीकरणबारे निर्णय हुने बताउनुभयो । सत्ता समीकरण र भागबण्डाको विषयमा शीर्ष नेताहरुले निर्णय गरिसकेको अवस्था भएकाले सरकार गठन र व्यवस्थापनका विषयमा प्रधानमन्त्री नियुक्तिपश्चात् छलफल गरेर अघि बढ्ने तयारी रहेको छ ।
‘अहिले प्रक्रियागत विषय टुंग्याएर समीकरणअनुसार प्रधानमन्त्री नियुक्तिको विषय नै बाँकी रहेको छ । पहिले प्रधानमन्त्री नियुक्ति नै प्राथमिकताको विषय हो । सोपश्चात् प्रदेश सरकारको विषयमा छलफल तथा निर्णय हुनेछ ।’ लामाले भन्नुभयो– ‘प्रदेश सरकारमा सबै दलहरुलाई समेट्ने प्रयत्न कांग्रेसको रहन्छ । अहिलेको अवस्थाले पनि सहमति र सहकार्यलाई नै निर्देशित गरेको छ । साझेदार दलहरुसँग छलफल गरेर निर्णय गर्छौं ।’

कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारका अनुसार नागरिकको सरकारको रुपमा स्थापित गर्न प्रदेश सरकारले काम गर्नुपर्ने अवस्था रहेको छ । समीकरण र अंकगणित भन्दा पनि नागरिकहरुको अपेक्षा र आवश्यकता पूूरा गर्नुपर्ने परिस्थिति रहेको उहाँले बताउनुभयो ।

सत्ता समीकरणमा मुद्धा र एजेण्डामा सहमति हुने दलहरुलाई समेटेर अघि बढ्न सरकारलाई समस्या नरहेको उहाँले बताउनुभयो । सबै दल र नागरिकको सरकारका रुपमा प्रदेशलाई अघि बढाउन माओवादी केन्द्रसँग पनि साझेदारीको प्रयत्न हुने उहाँको भनाइ छ । माओवादी केन्द्र गठबन्धनको मुद्धा र विचारमा सहमति भए सरकारमा ल्याउन कांग्रेसको कुनै आपत्ति नहुने उपनेता चित्रकारले बताउनुभयो ।

‘प्रदेशका नागरिकहरुलाई सरकारको अनुभूति दिलाउनु प्रमुख विषय हो । सरकार संकीर्ण र संकुचित सोचमा बन्दैन । सबैलाई समेटेर अघि बढ्ने प्रयास रहन्छ ।’ चित्रकारले भन्नुभयो– ‘अहिले हामी लोकतन्त्रमा छौं । लोकतन्त्रमा सशक्त प्रतिपक्ष पनि आवश्यक रहन्छ । मुद्धा र विचार मिले सरकारमा माओवादी केन्द्रलाई पनि स्थान रहन्छ । उहाँहरुको मुद्धा र विचार के हो त्यो अनुसारको निर्णय हुन्छ ।’
सत्ता समीकरण परिवर्तनपछि केन्द्र सरकार निर्माण नै पहिलो प्राथमिकता रहेको र सो पश्चात् साझेदार दलहरुसँग छलफल गरेर सहमतिको साझा विन्दु तयार हुने उहाँले बताउनुभयो । प्रदेशका सबै विषयहरुमा साझेदारहरुसँग छलफल गरेर नै सहमतिको विन्दु तयार हुने उहाँको भनाइ छ । प्रदेश सरकारको क्षेत्राधिकारअन्तर्गतको आवश्यकता र औचित्य अनुसारको निर्णय गरेर अघि बढ्ने उहाँले बताउनुभयो ।

यस्तो छ अंकगणित

११० सदस्य रहेको बागमती प्रदेशसभामा कांग्रेसको ३७, एमालेले २७, माओवादी केन्द्रको २१, राष्ट्रिय प्रजातन्त्र पार्टीको १३, एकीकृत समाजवादीको ७, नेपाल मजदुर किसान पार्टीको ३ र हाम्रो नेपाली पार्टीको २ सिट रहेको छ । बागमती प्रदेशमा सरकार गठनको लागि कुल सदस्यमध्ये ५६ जनाको समर्थन आवश्यक हुन्छ । पछिल्लो समीकरणअनुसार एमाले–कांग्रेस गठबन्धनको स्पष्ट बहुमत हुने देखिन्छ । एमाले र कांग्रेस समीकरणमा ६४ जना सांसद रहेका छन् । जुन सरकार गठनका लागि पर्याप्त हुन्छ ।

Exit mobile version