Home खेलकुद २५० शिक्षक, विद्यार्थीलाई स्क्र्याबल सम्बन्धी अभिमुखीकरण

२५० शिक्षक, विद्यार्थीलाई स्क्र्याबल सम्बन्धी अभिमुखीकरण

हेटौंडाः हेटौंडा–२ स्थित बालजागृति इंग्लिस सेकेन्डरी स्कुलको आयोजनामा स्क्र्याबल (कोठे पद) खेल सम्बन्धी एक दिवसीय अभिमुखीकरण कार्यक्रम भएको छ । शनिबार विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश भण्डारीको सभाध्यक्षमा तथा बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यमा अभिमुखीकरण कार्यक्रमको उद्घाटन भएको हो ।

खेलको माध्यमबाट विशेषगरी शब्द ज्ञान बढाउन सकिने भएकोले स्क्र्याबल खेलको विकास र विस्तारमा बालजागृति इंग्लिस सेकेण्डरी स्कुलले काम गरिरहेको छ । स्क्र्याबलसम्बन्धी अभिमुखीकरणको अवसरमा बालजागृतिले नेपालमा स्क्र्याबल खेलका संस्थापक केशव प्रसाद पराजुली, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा स्क्र्याबल खेलमा सहभागी भएको, विजयी भएको खेलाडी कास्कीका सक्षम कार्की, अच्युत लामिछाने, बारा जिल्लाका निरञ्जन साह, पूर्वी नवलपरासीका रिसव भण्डारी, चितवनका अर्नव पाण्डे र निराजन पौडेल र मकवानपुरका प्रसिद्ध तिमिल्सनालाई सम्मान गरेको छ ।

कार्यक्रमको उद्घाटन गर्नुहुँदै सामाजिक विकास मन्त्री कुमारी मोक्तानले विद्यार्थीहरुको क्षमताको अभिवृद्धि गर्न र चेतनामा लगानीको क्षेत्रको मनोबल बढाउन स्क्र्याबल खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । स्क्र्याबल जस्तो खेलमा राज्यले लगानी गरेर यसलाई निरन्तरता दिनुपर्ने उहाँले बताउनुभयो । स्क्र्याबल खेलमा मानिसहरुको रुचि कम देखिएकोले यसलाई अगाडि बढाउन काममा सबै लाग्नुपर्ने उहाँको भनाई छ । कार्यक्रममा बालजागृति इंग्लिस सेकेण्डरी स्कूलबाट एसईईमा ४ जीपिए ल्याउन सफल हुने रितिका छत्कुलीलाई सम्मान गरिएको छ । विद्यालयका प्रिन्सीपल विनोद सुवेदीले छत्कुलीलाई सम्मान स्वरुप २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गर्नुभयो ।

स्क्र्याबलसम्बन्धी अभिमुखीकरणमा हेटौँडा उपमहानगरपालिका, मनहरी र बकैया गाउँपालिकाका ५६ वटा विद्यालयका २ सय ५० जना विद्यार्थी सहभागी थिए । विद्यार्थीलाई बाहिरी ज्ञानको विकास गर्न, बौद्धिक क्षमताका विकास गर्नका लागि आयोजना गरेको कार्यक्रममा कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा स्क्र्याबल क्लब मकवानपुरका संयोजक बिबश जंग थापा, स्क्राबल क्लब नेपालका संस्थापक अध्यक्ष केशव प्रसाद पराजुली, कोषाध्यक्ष पूर्ण थापा, तालिम संयोजक भोजराज सुवेदी, प्राविधिक संयोजक अर्जुन पाण्डेले स्क्र्याबल खेलसम्बन्धी अभिमुखीकरण गराउनुभएको थियो ।

Exit mobile version