हेटौंडाः नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) मकवानपुर जिल्लाको आज शुक्रबार २३ औं जिल्ला सम्मेलन हुँदैछ । बिहीबार हेटौंडामा पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक समितिका प्रचारप्रसार विभाग प्रमुख दीपक वाइबाले सम्मेलनको तयारी पूरा भएको बताउनुभयो ।
हेटौंडा–२ स्थित पल्पसा प्याराडाइज होटलमा हुने सम्मेलनको उद्घाटन अखिल क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहले गर्नुहुने संगठन मकवानपुरका अध्यक्ष श्रवणकुमार बर्तौलाले बताउनुभयो । संगठनले ३ वर्षे कार्यकाल पूरा गरेर २३ औं जिल्ला सम्मेलन गर्न लागेको उहाँले बताउनुभयो ।
सम्मेलनमा जिल्लाभित्रका स्थानीय र क्याम्पसबाट गरी २ सय २० जना प्रतिनिधि सहभागी हुने उहाँले बताउनुभयो । सम्मेलनबाट नयाँ नेतृत्व चयन हुने उहाँले बताउनुभयो । सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुने नभए निर्वाचनमा जाने उहाँको भनाइ छ ।
सम्मेलनको उद्घाटन कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य एवम् बागमती प्रदेशकी सामाजिक विकासमन्त्री कुमारी मोक्तान, पार्टी प्रदेश उपाध्यक्ष एवम् प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, जिल्ला इन्चार्ज विजय गौतमलगायतको उपस्थिति रहने जनाइएको छ ।