हेटौँडाः नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका मुख्य सचेतक रत्न प्रसाद ढकालले प्रदेश सरकारसंग विकासको स्पष्ट नीति हुन जरुरी रहेको बताउनुभयो । उहाँले प्रदेश आयोजना बैंक निर्माण गरी योजना छनौटको प्रणाली विकास नीतिगत रुपमा व्यवस्था गर्न काम गर्नुपर्ने बताउनुभयो ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा ५ वटा मन्त्रालयको बजेट माथिको छलफलका क्रममा मुख्य सचेतक ढकालले विगतकै परम्पराबाट बजेट आइरहेको बताउनुभयो । सो विषयमा सरकारले गम्भिर बनेर सुधारका काम गर्नुपर्ने उहाँको भनाई छ ।
‘हामीले आगामी विर्षमा फरक शैलीको बजेट बनाउने तर्फ कन्द्रीत हुनुपर्छ । अर्को बर्षको बजेट कस्तो बनाउने, प्रदेशको आवश्यकता र भौगोलिक अवस्थाको विषयमा प्रदेशसभामा छलफल हुन जरुरी रहेको छ । हाम्रो आवश्यकता असिमिति छ । ति आवश्यकता समेट्न प्रदेश सरकारको बजेट प्रयाप्त छैन ।’ उहाँले भन्नुभयो ।
प्रदेश सरकारले बजेटबाट केही विषयहरु सरकारले सुधार गर्ने प्रत्यन रहेको उहाँले बताउनुभयो । प्रदेश सरकारको स्रोत र साधनको अधिनमा रहेर बजेट बनाएको उहाँको भनाई छ । प्रदेश सरकारले बजेटमा समावेश गरेको प्राथमिकताको योजनाहरु सन्तुलित रहेको र कार्यक्रम पुस्तिकामा समावेश भएको योजनामा भने केही त्रुटि फेला परेको उहाँले बताउनुभयो । सो त्रुटिलाई सुधार गरेर सरकार अघि बढ्नुपर्नेमा उहाँ जोड दिनुभयो । उहाँका अनुसार नागरिकको अपेक्षा संघमा भन्दा प्रदेश सरकारसंग बढी रहेको छ ।