हेटौंडाः नेकपा बागमती प्रदेशको संसदीय दलको बैठक सकिएको छ । अहिले ३ बजे प्रदेश सभा बस्दै छ । प्रदेश सभाको बैठक बस्नु अघि नेकपाको संसदीय दलको बैठक बसेको नेकपाका सचेतक बुद्धिमान माझीले बताउनुभयो । आगामी वर्षको बजेटमाथि नै संसदीय दलको बैठमा पनि छलफल भएको थियो । बैठकले विनियोजन विधेयक २०७७ जस्ताको तस्तै परिमार्जन नगरी पास गर्ने निर्णय गरेको छ ।

बजेटमा नेकपाकै सांसदहरुले असन्तुष्टी जनाएपनि बजेटलाई सर्मथन गरेको उहाँले बताउनुभयो । बजेट पारित गर्नेमा सबै एक रहेको उहाँको भनाई छ । यस्तै आज १ बजेट बस्ने भनिएको बैठक नेकपाका सांसदहरुको कुरा नमिल्दा ३ बजेलाई सारिएको थियो । कार्यव्यवस्था परामर्श समितिको बैठक अहिले चलिरहेके नेपाली कांग्रेसकी प्रमुख सचेतक राधा घलले जानकारी दिनुभयो । उहाँका अनुसार आजको बैठकमा पनि विनियोजन विधेयक २०७७ माथि नै छलफल हुने छ । यद्यपि कुन कुन विषयले प्रवेश पाउने भन्ने बारे कार्यव्यवस्थाको बैठक सकिएपछि थाहा हुने बताउनुभयो ।

बागमती प्रदेश सरकारले आगामी वर्षका लागि ५१ अर्बको बजेट ल्याएको छ । उक्त बजेटमा प्रतिपक्ष दलका साथै अन्य दलका सांसदहरुले आपत्ति जनाएका छन् । खर्चनै गर्न नसक्ने बजेट ल्याएको त्यसमा पनि मन्त्रीमुखि बजेट आएको भनेर कडा आलोचना भैरहको छ ।