Home मुख्य समाचार मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन गर्न कांग्रेसको माग

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन संशोधन गर्न कांग्रेसको माग

प्रदेश सभामा शुक्रबार विशेष समयमा बोल्नुहुँदै प्रदेश सभा सदस्य ईन्द्रबहादुर बानियाँ ।

हेटौँडाः बागमती प्रदेशसभाका सदस्य इन्द्र बहादुर बानियाँले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन २०७६ संशोधन गर्न माग गर्नुभएको छ । प्रदेशसभाको शुक्रबार बसेको बैठकमा विशेष समय माग गरेर उहाँले हेटौँडा अस्पताल र प्रतिष्ठान बीचको विवाद समाधान गर्न ऐन संशोधन गर्नुपर्ने बताउनुभएको हो । हेटौँडा अस्पताल प्रादेशिक अस्पतालको रुपमा संघीय सरकारबाट हस्तान्तरण भएकाले त्यसको अस्तित्व मास्न नहुने उहाँको भनाई छ ।

‘सरकारको निर्णयका कारण विशेष समय माग गरिएको हो । सरकारले प्रादेशिक अस्पताल निर्माण गर्ने निर्णय किन गर्यो ? विवादित भइरहेको अवस्थामा राजनीतिक दलहरुसँग छलफल नै नगरी किन हतारमा सरकारले मकवानपुरमा प्रादेशिक अस्पताल निर्माण गर्ने निर्णय गरिरहेको छ ?’ उहाँले प्रश्न गर्नुभयो, ‘संघीय सरकार अन्तर्गतको हेटौँडा अस्पताल प्रादेशिक अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण हो । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान संचालन ऐन गलत छ । हेटौँडा अस्पतालको चल–अचल सम्पत्ती मदन भण्डारीको हुन्छ भन्ने निर्णय कहाँ गरिएको छ ? प्रतिष्ठानको ऐन परिमार्जन गर्नुपर्छ ।’

संघीय सरकारबाट व्यवस्थापकीय जिम्मा प्रदेश सरकारलाई दिइएकाले प्रतिष्ठानको नाममा अस्पतालको सम्पत्ती माथि हस्तक्षेप गर्न अधिकार नरहेको उहाँले बताउनुभयो । मेडिकल अध्यापन गराउने उद्देश्यले स्थापना गरिएको प्रतिष्ठान विवादमा पर्दा गरिमा घट्दै गएको उहाँले दावी गर्नुभएको छ । प्रतिष्ठानको कार्ययोजनामा ध्यान नदिई सरकारले विवाद थप गर्न स्थायी कर्मचारीलाई हटाएर करारका कर्मचारीलाई अधिकार दिने काम गरिरहेको उहाँको भनाई छ ।

‘प्रतिष्ठान र अस्पतालको समस्या समाधानमा सरकारले ध्यान दिन छोडेर प्रादेशिक अस्पताल निर्माणमा सरकारले निर्णय गरेको छ । हेटौँडा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गरेर अघि बढ्नु पर्छ ।’ उहाँले भन्नुभयो । उहाँले हेटौँडा अस्पताललाई प्रादेशिक अस्पतालको रुपमा विकास गर्न माग गर्नुभएको छ ।

Exit mobile version