Home मुख्य समाचार अख्तियारमा हेटौंडा उपमहानगरपालिकाको उजुरी बढी

अख्तियारमा हेटौंडा उपमहानगरपालिकाको उजुरी बढी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यक्रमको क्रममा खिचीएको तस्वीर ।

हेटौंडाः अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मकवानपुर जिल्लाबाट सबैभन्दा बढी भ्रष्टाचारको उजुरी दर्ता हुनेमा हेटौंडा उपमहानगरपालिका रहेको छ । जिल्लाका दश पालिकामध्ये भ्रष्टाचारको उजुरी दर्ता हुने दोस्रो नम्बरमा मकवानपुरगढी गाउँपालिका रहेको छ ।

मंगलबार मकवानपुरगढी गाउँपालिका–३, मक्राञ्चुलीस्थित मनकामना दुग्ध उत्पादक सहकारी संस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रबद्र्धनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा उक्त तथ्यांक जानकारी गराइएको गाउँपालिकाका स्रोत शिक्षक दासरथी उपाध्यायले जानकारी दिनुभयो । अन्तरक्रियाको उद्देश्य भ्रष्टाचार न्यूनीकरण गर्न आवश्यक रहेको र भ्रष्टाचार कम गर्नुपर्छ भन्ने रहेको थियो । भ्रष्टाचार कम गर्न सबै गाउँपालिकाका कर्मचारीहरू मिलेर लाग्नुपर्ने कार्यक्रममा जोड दिइएको छ ।

चालु आर्थिक वर्ष २०८०/८१ को बैशाख मसान्तसम्म हेटौंडा उपमहानगरपालिकाको २ सय ८२ वटा उजुरी दर्ता भएको छ । दर्ता भएकामध्ये १ सय ५८ वटा उजुरी फछ्र्यौट भएको र १ सय २४ वटा उजुरी बाँकी रहेको छ । यस्तै, मकवानपुरगढी गाउँपालिकाको ५२ वटा उजुरी दर्ता भएकोमा ३५ वटा फछ्र्यौट भएको र १७ वटा बाँकी रहेको छ ।

मनहरी गाउँपालिकाको ३७ वटा उजुरी दर्ता भएकोमा २६ वटा फछ्र्यौट भएको छ भने बाँकी ११ वटा उजुरी रहेका छन् । बकैयामा २५ वटा उजुरी दर्ता भएकोमा १४ वटा फछ्र्यौट भएको र ११ वटा उजुरी बाँकी रहेको बताइएको छ । राक्सिराङ गाउँपालिका मा २१ वटा उजुरी दर्ता भएकोमा १० वटा फछ्र्यौट भएको छ भने ११ वटा उजुरी बाँकी रहेको छ । थाहा नगरपालिकामा १९ वटा उजुरी दर्ता भएकोमा १६ वटा फछ्र्यौट भएको छ भने तीनवटा बाँकी रहेको छ ।

बागमती गाउँपालिकामा ११ वटा उजुरी दर्ता भएकोमा ५ वटा फछ्र्यौट भएको छ भने ६ वटा बाँकी रहेको छ । भीमफेदी गाउपलिकाकोको ११ उजुरी दर्ता भएकोमा ६ वटा फछ्र्यौट भएको छ भने ५ वटा बाँकी रहेको । कैलाश गाउँपालिकामा ९ वटा उजुरी दर्ता भएकोमा ६ वटा फछ्र्यौट भएको र तीनवटा बाँकी रहेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा तीनवटा उजुरी दर्ता भएकोमा २ वटा फछ्र्यौट भएको छ भने एउटा उजुरी बाँकी रहेको छ ।

मकवानपुर जिल्ला भरिमै आर्थिक वर्ष २०८०/८१ को वैशाख मसान्तसम्म ४ सय ७० वटा उजुरी दर्ता भएको थियो भने २ सय ७८ वटा उजुरी फ्छर्यौट भएको र १ सय ९२ वटा उजुरी बाँकी रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

मकवानपुरगढी गाउँपालिकाको भ्रष्टाचारसम्बन्धी मुद्दामा विकास निर्माणको काम, गिटी बालुवा सम्बन्धी र लेनदेन (घुस खाने) रहेको छ । कार्यक्रममा मकवानपुरगढी गाउँपालिका प्रमुख दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्य रहेको थियो । साथै, गाउँपालिका उपप्रमुख मानकुमारी पाख्रिन नेपाली, गाउँपालिकाभित्र रहेका १० वटा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, गाउँपालिकामा कार्यरत कर्मचारीहरु, वडा अध्यक्षहरु, राजनैतिक दलका सदस्यहरू आदिको उपस्थिति रहेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका उपसचिव गोविन्दप्रसाद गौतम कार्यक्रम अध्यक्ष रहनुभएको थियो । कार्यक्रमको सहजीकरण अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका इन्जिनियरले गर्नुभएको थियो ।

Exit mobile version