हेटौंडाः हेटौंडा उपमहानगरपालिका–४ स्थित हेटौंडा क्याम्पसको सभाहलमा भएको वातावरण सम्बन्धी छलफल तथा प्रस्तुति कार्यक्रममा नवोदय शिशु सदनका विद्यार्थी प्रथम भएका छन् । बुधबार नगरस्तरीय युवा सञ्जालको आयोजना र सिविस नेपालको सहयोगमा भएको कार्यक्रममा नवोदयका विद्यार्थीले ४३ दशमलब ७५ अंक प्राप्त गर्दै प्रथम भएका हुन् ।
वातावरण दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा कमाने एकेडेमीका विद्यार्थी ४३ दशमलव २५ प्रतिशत अंकसहित द्वितीय भएका थियो । प्रस्तुती कार्यक्रममा भूटनदेवी माविका विद्यार्थी ४० दशमलव २५ प्रतिशतले तृतीय भएका छन् । बालबालिकालाई कपी, वातावरण सम्बन्धी किताब र प्रमाणपत्र हस्तान्तरण गरिएको छ । कार्यक्रममा विद्यार्थीले वातावरणसम्बन्धी स्थानीय समस्याहरुको कारण, असर र नियन्त्रणका विषयमा प्रस्तुति गरेका थिए । बालबालिका र युवाहरुको वातावरण र जलवायु अधिकार भन्ने मुल नाराका साथ कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा हेटौंडा–४ का वडा अध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्य रहेको थियो भने नगरस्तरीय युवा सञ्जालका संयोजक दिपेश मिश्रको सभाध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । प्रतियोगितामा ६ वटा विद्यालयको सहभागिता रहेको थियो जसमा एउटा समूहमा ४ जना विद्यार्थी थिए । बुधबार भएको कार्यक्रममा सुजन खतिवडा र विद्या दाहालले विभिन्न विधामा निर्णय गर्नुभएको थियो । प्रतियोगितामा विषयवस्तु र प्रस्तुतिको २०–२० अंक र आत्मविश्वासको १० मूल्याङ्क गरी ५० पूर्णाङ्कमा निर्णय गरिएको थियो ।
