Home मुख्य समाचार एमाले मकवानपुर अधिवेशनः ७६५ प्रतिनिधिले मतदान गरे, भोलि बिहानदेखि मतगणना गरिने

एमाले मकवानपुर अधिवेशनः ७६५ प्रतिनिधिले मतदान गरे, भोलि बिहानदेखि मतगणना गरिने

आइतबार मतदानका लागि लामवद्ध प्रतिनिधिहरु आफ्नो परिचयपत्र देखाउँदै ।फाइल तस्वीर ।

हेटौँडाः नेकपा एमाले मकवानपुरको नयाँ नेतृत्व चयनका लागि ७ सय ६५ प्रतिनिधिले मतदान गरेका छन् । आइतबार दिनको ४ बजेर १५ मिनेटमा सुरु भई राती करिब १० बजे मतदान सम्पन्न भएको निर्वाचन अधिकृत पिताम्बर बास्तोलाले जानकारी दिनुभएको छ ।

निर्धारित समयभन्दा ३ घण्टा १५ मिनेट ढिलो गरी मतदान सुरु भएको थियो । निर्वाचन समितिले आइतबार दिउँसो १ बजेदेखि मतदान सुरु हुने तालिका सार्बजनिक गरे पनि दिउँसो ४ बजेर १५ मिनेटमा मतदान सुरु भएको थियो । ७ सय ७७ जना प्रतिनिधि मध्ये १२ जना अनुपस्थित रहेको निर्वाचन समितिले जनाएको छ । एमाले मकवानपुरको ५ पदाधिकारीसहित १०५ सदस्यीय जिल्ला कमिटी चयनका लागि निर्वाचन भएको हो । मतगणना भने भोलि बिहान ७ बजेदेखि हेटौँडा–४ स्थित भुवनेश्वर मन्दिरको सभाहलमा हुने बताइएको छ ।

एमाले मकवानपुरको नेतृत्वका लागि अध्यक्ष पदमा ४ जनाको उम्मेदवारी परेको छ । यस्तै उपाध्यक्ष पदमा ४ जना, सचिवमा ३ जना, उपसचिव खुल्ला तर्फ ५ र महिलातर्फ ४ जनाको उम्मेदवारी परेको छ । एमाले मकवानपुरको अध्यक्ष पदमा देवराज रिमाल, इन्द्रमान स्याङ्तान, श्रीधर पोखरेल र लालबहादुर थापाको उम्मेदवारी रहेको छ ।

उपाध्यक्षमा हिदम लामा, सुनिल मोक्तान, ध्रुब चौलागाई र भरत दुलालको उम्मेदवारी परेको छ । सचिवमा मदन कुमार दाहाल, सीता बिष्ट र राजन थापाको उम्मेदवारी रहेको छ । उपसचिव खुलातर्फ ईन्द्रप्रसाद नेपाल, कृष्णप्रसाद चौलागाई, दीपक खड्का, फुर्वा दोर्जे लामा र खेमराज मगरको उम्मेदवारी रहेको छ । उपसचिव महिलातर्फ कल्पना बलामी, जुना दाहाल, आरती पाठक र पार्वती रानाको उम्मेदवारी रहेको छ ।

Exit mobile version