Home मुख्य समाचार आजबाट एमाले मकवानपुरको अधिवेशन, पार्टीका महासचिव शंकर पोखरेल आउने

आजबाट एमाले मकवानपुरको अधिवेशन, पार्टीका महासचिव शंकर पोखरेल आउने

हेटौंडाः नेकपा एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशन आज शुक्रबारबाट सुरु हुने भएको छ । अधिवेशनको उद्घाटनका लागि पार्टीका महासचिव शंकर पोखरेल आउने जिल्ला अध्यक्ष एका लाल श्रेष्ठले जानकारी दिनुभयो ।

अधिवेशन हेटौंडाको रोयल प्यालेसमा हुँदैछ । अधिवेशन भोलि शनिबारसम्म चल्नेछ । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष केपी ओलीले गर्ने तय भए पनि विभिन्न समस्याका कारण अध्यक्ष ओली आउन नसक्ने जिल्ला अध्यक्ष श्रेष्ठले बताउनुभयो । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । अधिवेशनमा मकवानपुर जिल्लाका १० वटा पालिकाबाट प्रतिनिधि, पर्यवेक्षक र विभिन्न क्षेत्रसंग सम्बन्धित पार्टीको जनवर्गीय संगठनहरुबाट सहभागिता रहनेछन् ।

मकवानपुर जिल्लामा नेकपा एमालेका ११ हजार ६ सय ८४ पार्टी सदस्यबाट अधिवेशनका लागि प्रतिनिधि चयन गरिएको छ । १० वटा पालिकाको १०२ वटा वडा, मजदुर, पेशागत जनसंगठन, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार परिषद्समेतबाट छानिएर आएका कुल ७६९ प्रतिनिधिहरुले अधिवेशनमा सहभागिता जनाउनेछन् ।

अधिवेशनको बन्द सत्रबाट भावी नेतृत्वसमेत चयन हुने अध्यक्ष श्रेष्ठले बताउनुभयो । अधिवेशनले नेकपा एमालेको मार्गनिर्देशक सिद्धान्त जनताको बहुदलीय जनवादको औचित्यलाई पुष्टि गर्दै सिंगो देशमा सकारात्मक सन्देश प्रवाह गर्ने उहाँको भनाइ छ । अधिवेशनबाट ३ वर्षका लागि १ सय ५ जनाको नयाँ कार्यसमिति चयन हुनेछ । नेकपा एमाले मकवानपुरको अध्यक्षमा रघुनाथ खुलाल, लालबहादुर थापा, इन्द्रमान स्याङ्तान आकांक्षी छन् ।

Exit mobile version