Home मुख्य समाचार गर्मी बढेपछि चौतारामा राखेर विद्यार्थी पढाउँदै बागमती आवि

गर्मी बढेपछि चौतारामा राखेर विद्यार्थी पढाउँदै बागमती आवि

हेटौंडाः मकवानपुरको बागमती गाउँपालिका–५, बगेरीमा रहेको बागमती आधारभूत विद्यालयले गर्मीका कारण विद्यार्थीहरुलाई चौतारामा राखेर पठनपाठन गरिरहेको छ । अत्यधिक गर्मी भइरहेको र कुनै पनि कक्षामा फाइनको व्यवस्था नभएका कारण विद्यार्थीलाई चौतारामा राखेर पठनपाठन गरेको विद्यालयका प्रधानाध्यापक गोकर्ण थापाले जानकारी दिनुभयो ।

विद्यालयको कक्षाकोठा सानो र विद्यार्थी संख्या धेरै भएकाले अत्यधिक गर्मीका कारण कक्षा ५ का विद्यार्थीलाई चौतारामा राखेर अध्ययन गराइरहेको उहाँले जानकारी दिनुभयो । विद्यालयको आर्थिक अवस्था निकै कमजोर भएका कारण विद्यालयले निजी शिक्षक राखेर अध्ययन अध्यापन गराउन समस्या भएको उहाँको भनाइ छ । विद्यालयमा आवश्यक शिक्षक नभएका कारण बाल कक्षामा अध्यापन गराउने शिक्षकले माथिल्लो कक्षामा अध्यापन गराइरहेको उहाँले बताउनु भयो ।

विद्यालयलाई गाउँपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ मा कुनै पनि किसिमको सहयोग नगरेको उहाँले जानकारी दिनुभयो । प्रधानाध्यापक थापाले भन्नुभयो– ‘कक्षा कोठा सानो भएको र विद्यार्थी संख्या धेरै रहेकाले पठनपाठन कठिन भइरहेको छ ।’ २० जना विद्यार्थी पठनपाठन गर्न सक्ने क्षमता भएको कक्षाकोठामा ३५–४० जना विद्यार्थी पढाउने गरेको उहाँको भनाइ छ ।

विद्यालयमा मगर, माझीसहित जनजाति समुदायको विद्यार्थीको बाहुल्यता रहेको छ । विद्यालयले आगामी वर्षबाट कक्षा ९ को पठनपाठन सञ्चालन गर्ने लक्ष्य राखेको छ । विद्यार्थीलाई माध्यमिक तहमा अध्ययनका लागि टाढासम्म पुग्नुपर्ने समस्या भएको र विद्यार्थीले बीचमा नै पढाइ छोड्नुपर्ने बाध्यता नहोस् भनेर अर्को वर्ष ९ र त्यसपछि १० कक्षासम्म सञ्चालन गर्ने लक्ष्य लिएको प्रधानाध्यापक थापाले जानकारी दिनुभयो ।

विद्यालयमा विद्यालय भवन, शिक्षक दरबन्दी, फाइन, घेराबार आदिको समस्या रहेको छ । ८ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल २ सय ८५ जना विद्यार्थी रहेका छन् । विद्यालयले विद्यार्थीहरुलाई दिवा खाजा उपलब्ध गराउँदै आएको छ ।

Exit mobile version