Home अर्थ/व्यापार मकवानपुरमा चैत मसान्तसम्म ७२ प्रतिशत राजस्व संकलनः नक्कली बिजक प्रयोग गर्ने करदातालाई...

मकवानपुरमा चैत मसान्तसम्म ७२ प्रतिशत राजस्व संकलनः नक्कली बिजक प्रयोग गर्ने करदातालाई कारबाही

हेटौंडाः आन्तरिक राजस्व कार्यालय मकवानपुरले चालु आर्थिक वर्ष २०८०/०८१ को चैत मसान्तसम्म लक्ष्यको ७२ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्षको ९ महिनामा कार्यालयले ६ अर्ब २९ करोड ५५ लाख ५ हजार ७ सय ६० रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ४ अर्ब ५५ करोड ३४ लाख २९ हजार ८ सय २० रुपैयाँ राजश्व संकलन गरेको हो ।

कार्यालयले बक्यौतातर्फ १४ करोड १९ लाख ४४ हजार ३ सय रुपैयाँ संकलन गर्ने लक्ष्य राखेकोमा १२ करोड २८ लाख १७ हजार ६ सय २० रुपैयाँ संकलन गरेको छ । कार्यालयले लक्ष्यको ७९ प्रतिशत बक्यौता रकम संकलन गरेको हो ।

उक्त समयमा कार्यालयले ९० वटा पसलको अनुगमन गर्ने लक्ष्य राखेकोमा १८६ वटा पसलको अनुगमन गरेको छ । कार्यालयले बजार अनुगमनबाट ७७ हजार ४ सय रुपैयाँ जरिवाना गर्ने लक्ष्य राखेकोमा २ लाख ९९ हजार रकम जरिवाना असुल गरेको छ । यस्तै, कार्यालयले अनुगमन र समन्वयबाट ४१ वटा नयाँ फर्म दर्ता, १ हजार ९ सय ३४ नयाँ व्यावसायिक लेखा नम्बर दर्ता, १७ वटा कानुनी कारबाहीबाट मूल्य अभिवृद्धि करमा दर्ता, १ हजार ४ सय ४७ अन्तःशुल्क नवीकरण, २४ वटा मूल्य अभिवृद्धि कर दर्ता परीक्षण, द्रुत कर परीक्षणबाट ५ लाख २२ हजार ५० रुपैयाँ राजस्व संकलन र ९ वटा झुटा तथा नक्कली बिजक प्रयोग गर्ने व्यवसायीको अनुसन्धान गरेको छ ।

जिल्लामा १ लाख १५ हजार १ सय ६९ जना करदाता रहेका छन् । जिल्लामा कुल ४ लाख ६६ हजार ७३ जना जनसंख्या रहेकोमा २५ प्रतिशत करदाता भएको आन्तरिक राजस्व कार्यालय हेटौंडाले जनाएको छ । आयकरमा ३२ हजार ७ सय ८८ जना, मूल्य अभिवृद्धि कर (भ्याट)मा ५ हजार ६ सय ८१ जना, अन्तःशुल्कमा १ हजार ६ सय १५ जना, व्यावसायिक प्यानमा ६ सय ७३ जना र व्यक्तिगत प्यानमा ७४ हजार ४ सय ९ जना करको दायरामा समावेश भएका छन् । जिल्लाको कुल जनसंख्याको २५ प्रतिशत मानिस करको दायरामा आएको कार्यालयले जनाएको छ । व्यक्तिगत प्यान व्यक्तिले जुनै स्थानबाट पनि प्राप्त गर्न सक्ने हुनाले जिल्ला भित्रका मानिसले अन्यत्रबाट पनि प्यान लिएको हुनसक्ने कार्यालयले अनुमान गरेको छ ।

यस्तै, आर्थिक वर्ष २०७९/०८० मा १६ हजार ९ सय ७९ वटा उद्योग व्यवसायीले आय कर बुझाउन बाँकी रहेको कार्यालयले जनाएको छ । आर्थिक वर्षको साउन, भदौ र असोज महिनामा व्यवसायीहरुले आयकर बुझाउनुपर्ने व्यवस्था रहेको छ, तर व्यवसायीले आवश्यकता अनुसार ३ महिनासम्म आयकर बुझाउने म्याद थप्न सक्ने कार्यालयका प्रमुख तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो । भट्टराईका अनुसार मकवानपुरमा धेरै करदाताले आयकर बुझाउन बाँकी रहेको बताउनुभयो ।

मानिसमा सरकारलाई आयकर बुझाउनु पर्छ भन्ने अज्ञानताले पनि राजस्व कार्यालयमा धेरै व्यवसायीहरु कर बुझाउन नआएको उहाँको भनाइ छ । हालसम्म ३ हजार २ सयभन्दा बढी उपभोक्ता समिति कर बुझाउन आएका छैनन् । उपभोक्ता समिति, गाउँका आमा समूह, कृषि समूहहरु गैरनाफामुखी संस्था नभएकाले आयकर बुझाउन नपर्ने भए पनि आय विवरण पेश गर्न आवश्यक रहेको भट्टराईले बताउनुभयो ।

यस्तै, राजस्व कार्यालयले मदिरा, सुर्ती तथा अन्य अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न अनुमति लिनुपर्ने जनाएको छ । तर धेरै व्यवसायीले अनुमति लिएको देखिएको छैन । कुनै व्यक्तिले आफ्नो कुल परम्परा एवम् संस्कृतिका लागि निजी उपयोग गर्न एक पटकमा पाँच लिटरसम्म रक्सी र दश लिटरसम्म जाँड बनाउन इजाजतपत्र लिन नपर्ने भए पनि रक्सी र जाँड वर्षको ६ पटकभन्दा बढी बनाउन नपाउने कानुनी व्यवस्था रहेको छ । रक्सी र जाँड बनाउने व्यक्तिले कर अधिकृतलाई सूचना दिनुपर्ने व्यवस्था रहेको छ ।

कार्यालय प्रमुख भट्टराईका अनुसार प्रत्येक व्यक्तिले सामान खरिद गर्दा बिल लिनुपर्ने र नलिएको अवस्थामा कर अधिकृतले जरिवाना गर्नसक्ने अधिकार भएकोसमेत जानकारी दिनुभयो । सोहीअन्तर्गत् सामान खरिदकर्ताले सामान किन्दा बिल लिन उहाँले आग्रहसमेत गर्नुभयो । कार्यालयले नक्कली बिजक प्रयोग गरेका ९ वटा करदातालाई कारबाही गरी ६ करोड राजस्व निर्धारण गरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, ‘हामीले विगतका दिनमा नक्कली बिजक प्रयोग गरी राज्यको राजस्व छली गरेका ९ जना कारदातालाई अनुसन्धान गरी ६ करोड राजस्व निर्धारण गरेका छौँ । २ जना करदाताले ७ लाख ३७ हजार ८ सय ९८ रुपैयाँ राजस्व संकलनसमेत गर्यौं। अन्य ७ जना करदाता हामीसँग आउनुभएको छैन, अदालती प्रक्रियामा जानुभएको छ, अदालतले जे फैसला गर्छ हामी त्यही गर्छौं ।’

Exit mobile version