Home मुख्य समाचार थुनामुक्त गरिदिन्छु भनी रकम लिने व्यक्ति पक्राउ

थुनामुक्त गरिदिन्छु भनी रकम लिने व्यक्ति पक्राउ

हेटौंडाः अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी कसुर मुद्दामा पुर्पक्षका लागि कारागार थुनामा रहेका व्यक्तिहरू छुटाई दिन्छु भनी रकम लिने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२३, बैराठपुर बस्ने २५ वर्षीय सहदेव पटेल रहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।

पटेलले अपहरण, शरीर बन्धक तथा जबरजस्ती करणी कसुर मुद्दाको पुर्पक्षका लागि कारागार कार्यालय पर्सा बीरगञ्जमा रहेका व्यक्तिलाई छुटाइदिन्छु भनी दश लाख र जबरजस्ती करणी कसुर मुद्दाको पुर्पक्षमा रहेका व्यक्ति छुटाइदिन्छु भनी ७ लाख लिएर ठगी गरेको आरोप छ । पुर्पक्षमा रहेका व्यक्तिहरुका आफन्तले दिएको जाहेरीको आधारमा पटेललाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका पटेललाई ठगी मुद्दा दर्ता गरी जिल्ला अदालत बाराबाट म्याद थप गरी अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

Exit mobile version